काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहका जनप्रतिनिधिको राष्ट्रिय भेला आह्वान गरेको छ ।
पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई पार्टीको नीतिअनुसार प्रशिक्षित गराउने उद्देश्यका साथ भेला आह्वान गरिएको महासचिव देव गुरुङले जानकारी दिए । उनका अनुसार १० फागुनमा काठमाडौंमा अभिमुखी कार्यक्रमसहितको राष्ट्रिय भेला आयोजना गरेको हो ।
भेलामा प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्ष र अध्यक्षहरू सहभागी हुने गुरुङले जानकारी दिए । गत २१ देखि २३ पुसमा काठमाडौंमा बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको विस्तारित बैठकले देशभर आफूले जितेका पालिकाका जनप्रतिनिधिको राष्ट्रिय भेला गर्ने निर्णय गरेको थियो ।
स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माण सम्बन्धी अभिमुखीकरण कार्यक्रमसहितको राष्ट्रिय भेला आयोजना गरिएको गुरुङले जानकारी दिए ।