काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले अहिले ल्याएका अध्यादेश पारित नभए प्रधानमन्त्री केपी शर्मा ओली कुर्सीमा बस्न योग्य नहुने बताउनुभएको छ । आज (मंगलबार) सप्तरीको राजविराजमा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले यस्तो बताउनु भएको हो ।
उहाँले आफूले अहिले ल्याईएका अध्यादेश राष्ट्रियसभाबाट पारित हुने अवस्थापनि नदेखेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो ‘दुई तिहाई बहुमत भएका बेला पनि यो सरकारले नियमित रुपमा ऐन कानुन बनाउनुको साटो अध्यादेशबाट देश चलाउन खोज्नु गलत हो । यो अध्यादेश पारित हुन्छ भन्ने मलाई लाग्दैन् ।’
खनालले भन्नुभयो ,‘अध्यादेश फेल भए वर्तमान सरकार र त्यसका नेतृत्वकर्ता कुर्सीमा बसिरहन नैतिक रुपमा योग्य रहँदैनन् ।’
प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले पनि अध्यादेश पारित नहुने दाबी गरिरहेका छन् । अध्यादेश राष्ट्रियसभाबाट पारित हुनको लागि उपेन्द्र यादव नेतृत्वको जसपा, नेपालले साथ दिनुपर्छ । यादवको दल आजसम्म पनि निर्णयमा पुग्न सकेको छैन् ।