काठमाडौं । अन्तर्राष्ट्रिय किसान संघर्ष दिवसको अवसरमा अखिल नेपाल किसान महासंघले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय आलोकनगर तीनकुनेमा महासंघका अध्यक्ष बलराम वाँस्कोटाको अध्यक्षतामा कार्यक्रम सम्पन भएको हो ।
अध्यक्ष वाँस्कोटाले अन्तर्राष्ट्रिय किसान संघर्षको ऐतिहासिक पृष्ठभूमिको बारेमा आफ्नो धारणा राख्नु भएको थियो । धारणा राख्ने क्रममा उहाँले सन् १९९६ अप्रिल १७ का दिन ब्राजिलका १९ जना किसानहरुले भूमिमाथि किसानको अधिकार र सिमान्तकृत कृषकहरुको मानवअधिकार रक्षार्थ गरिएको विषय समेत स्मरण गर्नुभयो । सहिद किसानहरुको स्मरण गर्दै विश्वभरका किसानहरु एकजुट हुनुपर्नेमा पनि उहाँको जोड थियो ।
त्यसैगरी, नेकपा एकीकृत समाजवादीका उपमहासचिव डा. विजय पौडेलले किसानको समृद्धिका लागि राज्यले १०/१२ प्रतिशत रकम कृषि क्षेत्रमा लगानी हुनपर्ने बताउनुभएको छ । समग्र किसानले उत्पादन गरेको कृषि उत्पादनलाई न्युनतम समर्थन मुल्य तोकेर बजारको ग्यारेन्टी गरेमा मात्रै कृषिको क्षेत्रमा आमूल परिवर्तन हुनसक्ने उहाँको धारणा थियो ।
कार्यक्रममा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य सावित्रा भुसालले कृषिमा विश्वव्यापी प्रभाव पार्दै आएको नवउदारवाद, साम्राज्यवाद र पूँजीवादको विरुद्ध किसानको संघर्ष जारी राख्नुपर्ने बताउनुभयो । महासंघका महासचिव प्रमेश पोखरेलले अन्तर्राष्ट्रिय किसान आन्दोलनलाई सशक्त बनाई अघि जानुपर्नेमा जोड दिनुभयो । संयुक्त राष्ट्रसंघीय किसान तथा ग्रामीण क्षेत्रमा कार्यरत जनसमुदायहरुको अधिकार घोषणापत्र जारी गर्न सफल भएपछि विश्वभरका किसानलाई केही राहात मिलेको उहाँको भनाई थियो ।
कार्यक्रममा सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर, काठमाडौं, धादिङ,नुवाकोट,सिन्धुली, रसुवा, डोल्पा, कपिलवस्तु, जिल्लाका साना किसाहरुको पनि उपस्थिति थियो । कार्यक्रममा कृषि र किसान अधिकारबारेको कविता र गित पनि प्रस्तुत गरिएको थियो ।