गुल्मी, ३०, माघ – विपक्षी गठबन्धनमा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका सात दलका जिल्ला कमिटी प्रतिनिधिहरूको बैठक सम्पन्न भएको छ। बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल गर्दै, हालको सरकारद्वारा भइरहेका ज्यादती, भ्रष्टाचार तथा कुशासनका विरुद्ध संघर्ष गर्ने निर्णय गरिएको छ।
बैठकले गुल्मी जिल्लाको विकास निर्माणका कार्यहरूमा देखिएको अनियमितता र कुशासनप्रति गम्भीर आपत्ति जनाउँदै यसको विरोधमा सशक्त रूपमा उभिने निर्णय गरेको छ। साथै, दैविक प्रकोपबाट पीडित जनताले अझै पनि राहत नपाएको, भूकम्प पीडित किसानहरूले बाँकी किस्ता नपाएको लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउने निर्णय गरिएको छ।
त्यस्तै, अलोकतान्त्रिक र अप्राकृतिक गठबन्धन सरकारले विभिन्न अध्यादेशमार्फत ल्याएका विधेयकहरू, विशेष गरी सामाजिक सञ्जाललाई नियमन गर्ने दमनकारी विधेयकको कडा विरोध गरिने बैठकले निर्णय गरेको छ। विपक्षी गठबन्धनले नागरिक स्वतन्त्रता, लोकतान्त्रिक मूल्य–मान्यता र सुशासनको पक्षमा संघर्ष जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।
