पाकिस्तानले कीर्तिमानी जितसँगै त्रिकोणात्मक सिरिजको फाइनलमा स्थान सुरक्षित गरेको छ। कराँचीमा भएको खेलमा कप्तान मोहम्मद रिजवान र उपकप्तान सलमान अघाको शतकको मद्दतले पाकिस्तानले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गर्दै ३५३ रनको लक्ष्य पूरा गर्यो।
दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गर्दै ५० ओभरमा ५ विकेट गुमाएर ३५२ रन बनाएको थियो। कप्तान टेम्बा बभुमा (८२), म्याथ्यु ब्रिट्ज्की (८३), र हेनरिक क्लासेन (८७) ले अर्धशतक प्रहार गरे।
जवाफमा, पाकिस्तानले ४९ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। सलमान अघाले १०३ बलमा १६ चौका र २ छक्कासहित १३४ रन बनाए भने कप्तान मोहम्मद रिजवान १२८ बलमा ९ चौका र ३ छक्कासहित १२२ रनमा अविजित रहे। दुवै खेलाडीले चौथो विकेटका लागि २६० रनको साझेदारी गरे, जुन पाकिस्तानको ओडीआई इतिहासमा चौथो विकेटका लागि सबैभन्दा ठूलो साझेदारी हो।
यस जितसँगै पाकिस्तानले ओडीआईमा आफ्नो सबैभन्दा ठूलो लक्ष्य पछ्याउने कीर्तिमान पनि बनाएको छ। यसअघि, पाकिस्तानले २०२२ मा लाहोरमा अष्ट्रेलियाविरुद्ध ३४९ रनको लक्ष्य पूरा गरेको थियो।
यो जितसँगै पाकिस्तानले फाइनलमा स्थान सुरक्षित गरेको छ, जहाँ उसले न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।
खेलको सम्पूर्ण हाइलाइट्सका लागि तलको भिडियो हेर्नुहोस्: