धुर्कोट गाउँपालिकामा शहिद पार्क उद्घाटन: पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)द्वारा शालिक अनावरण

धुर्कोट गाउँपालिका, गुल्मी – धुर्कोट गाउँपालिका–३, बर्बोटमा निर्मित शहिद पार्कको उद्घाटन नेपाल सरकारका सम्माननीय पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ज्यूबाट सम्पन्न भएको छ। सो अवसरमा प्रमुख अतिथिबाट शहिद समशेर बहादुर खत्री, खिम विक्रम नेपाली र जेदुराम भण्डारीको स्मृतिमा निर्माण गरिएका तीनवटा शालिक अनावरण पनि गरिएको थियो।

धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको विशेष अतिथिमा पूर्व मन्त्री राम कुमारी झाँक्री, पूर्व सांसद टंक पोखरेल लगायत विभिन्न राजनीतिक दलका नेता, जनप्रतिनिधि, शहिद परिवार, छिमेकी पालिकाका पदाधिकारी तथा स्थानीय बासिन्दाहरूको उपस्थिति थियो।उपाध्यक्ष सीता गिरीको स्वागत मन्तव्य तथा हिमालय मा.वि. र पान्चायन मा.वि. का विद्यार्थीहरूद्वारा प्रस्तुत कला प्रदर्शन कार्यक्रमका विशेष आकर्षण बने। वक्ताहरूले शहिदहरूको बलिदानप्रति उच्च सम्मान प्रकट गर्दै गाउँपालिकाले शहिदहरूको स्मृतिमा सुन्दर पार्क निर्माण गरेकोमा धन्यवाद ज्ञापन गरे।

प्रमुख अतिथि पुष्पकमल दाहाल (प्रचण्ड)ले शहिदहरूको योगदानको उच्च प्रशंसा गर्दै शहिद परिवारलाई विशेष सम्मान गर्नुभएको थियो। साथै, धुर्कोट गाउँपालिका तथा गुल्मी जिल्लाको समग्र विकासमा आफू सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमको समापनमा गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले शहिद पार्क उद्घाटन समारोहलाई सफल बनाउन योगदान पुर्याउने सम्पूर्ण अतिथि, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार तथा स्थानीय जनसमुदायलाई धन्यवाद ज्ञापन गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us