सार्कका ३५० क्यान्सर विशेषज्ञ सहभागी भएको पूर्वाञ्चल क्यान्सर सम्मेलन झापामा सुरु

झापा । विश्वकै प्रमुख स्वास्थ्य चुनौति बनिरहेको क्यान्सर रोगको उपचारलाई अझ राम्रो बनाउने लक्ष्यका साथ आज झापामा पूर्वाञ्चल क्यान्सर सम्मेलन सुरु भएको छ ।

पूर्वाञ्चल क्यान्सर अस्पतालको आयोजनामा हुने सम्मेलनमा सार्कका सात मुलुकका ३५० विशेषज्ञ चिकित्सकहरुको सहभागिता रहने अस्पतालका मेडिकल डाइरेक्टर तथा सम्मेलनका संयोजक डा. वीरेन्द्र यादवले बताउनुभयो ।

सम्मेलनको शुभारम्भ आज विर्तामोडस्थित अस्पतालको सभाहलमै हुनेछ भने शनिवार र आइतवार मेचीनगरको पाँचतारे होटल मेची क्राउनमा विशेष छलफल कार्यक्रमहरु सञ्चालन हुनेछन् ।

सम्मेलन शुक्रवार, शनिवार र आइतवार सञ्चालन हुनेछ । सम्मेलनमा क्यान्सर उपचारमा संलग्न एक सय जना विशेषज्ञ चिकित्सकहरुले प्रस्तुत गर्ने कार्यपत्रमाति व्यापक छलफल हुने डा. यादवले जानकारी दिनुभयो ।

दुई वर्षअघि पूर्वाञ्चल क्यान्सर अस्पतालले नै पहिलोपटक यस्तै सम्मेलनको आयोजना गरेको थियो ।

“यो अन्तर्राष्ट्रिय स्तर र महत्त्वको सम्मेलन हो,” उहाँले सम्मेलनको बारेमा जानकारी दिन आज विर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो–“स्तन र जीआई क्यान्सरका उदीयमान प्रवृत्तिहरुका विषयमा सम्मेलन केन्द्रित हुनेछ ।”

पत्रकार सम्मेलनमा सार्क फेडेरेसन अफ अंकोलोजिस्ट नेपालका संस्थापक अध्यक्ष प्राडा मदनकुमार पिया, वीएन्डसी मेडिकल कलेजका प्रिन्सिपल प्राडा उमेश शर्मा, अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरी लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us