अध्यादेश अघि बढाउने सत्तारुढ दलबीच सहमति, उपेन्द्र र राजकिशोरसँग फोनवार्ता

काठमाडौं । बालुवाटारमा बसेको सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकले सरकारले ल्याएको अध्यादेश पारित गर्ने सहमति गरेको छ । शनिबार बालुवाटारमा बसेको बैठकमा सबै दलहरुसँग छलफल गरेर अध्यादेश ६ गते बस्ने राष्ट्रियसभाको बैठकबाट पारित गर्ने सहमति भएको गृहमन्त्री रमेश लेखकले बताए ।

‘छलफल सरकारात्मक रुपमा अगाडि बढेर निष्कर्षमा पुगेका छौं’, उनले भने, ‘सत्ता गठबन्धनसँग बहुमत पुग्नेगरी छलफल भएको छ ।’ भूमि अध्यादेश पनि प्रतिस्थापन गर्दा सबैले आपसमा छलफल गरेर अघि बढ्ने बताए ।

लोसपा अध्यक्ष महन्थ ठाकुर आफैं बैठकमा सहभागी भएको र जसपा नेपालसँग पनि कुरा भएर अध्यादेश अघि बढाउने सहमति भएको उनले बताए ।

यसैबीच अध्यादेश पारित गर्न निर्णायक भूमिकामा देखिएका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र उपाध्यक्ष राजकिशोर यादवलाई बैठकबाट फोन गरिएको थियो । बैठकबाट जसपा नेपालका नेताहरुसँग फोनमा कुराकानी भएको गृहमन्त्री लेखकले पनि बताएका छन् ।

उनका अनुसार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र राजकिशोर काठमाडौं बाहिर भएकाले उपस्थित हुन नपाएको र उनीहरुसँग फोनमा वार्ता भएको हो ।

जसपा नेपालले मात्रै नभइ सरकारमै भएको लोसपाले पनि सरकारले ल्याएको ५ अध्यादेशमा समर्थन गरेपनि भूमि अध्यादेश अस्वीकार गर्ने निर्णय गरेका थिए । तर, आजको बैठकबाट सहमति जुटेको गृहमन्त्री लेखकको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us