अमेरिकामा ट्रम्प प्रशासनद्वारा १० हजार संघीय कर्मचारी बर्खास्त

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब १० हजार संघीय कर्मचारीलाई बर्खास्त गरेका छन् । शुक्रबारसम्म ट्रम्पले झण्डै १० हजार कर्मचारीलाई बर्खास्त गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।

समाचारमा बताइएअनुसार आन्तरिक मामिला, ऊर्जा, सैन्य मामिला, कृषि तथा मानव सेवामा लगायत दर्जनौ विभागमा कार्यरत कर्मचारीहरू बर्खास्त गरिएको हो । बर्खास्तीमा पर्नेहरुमा अधिकांश परीक्षणकालमै रहेका कर्मचारीहरू रहेको भनिएको छ ।

बोस्टनको अदालतले कर्मचारीलाई निस्कासन गर्ने ट्रम्पको योजनामा यसअघि नै बाटो खुला गरिदिएको थियो । अदालतले ट्रम्प प्रशासनलाई इच्छुक कर्मचारीलाई राजीनामा गराउने प्रक्रिया पुनः सुरू गर्न भनेको थियो ।

ट्रम्प प्रशासनले यसअघि स्वेच्छिक राजीनामा गर्न भनेर संघीय कर्मचारीहरुलाई इमेल पठाएको थियो । स्वेच्छिक राजीनामा गर्दा आगामी सेप्टेम्बर महिनासम्म काम नगरी तलब दिइने आश्वासन दिइएको छ । त्यसरी इमेल पठाइएकामध्ये ७५ हजार कर्मचारीले राजीनामाको प्रस्ताव स्वीकार गर्दै इमेलको जबाफ फर्काएको समाचारमा जनाइएको छ । अमेरिकामा २३ लाख संघीय कर्मचारी रहेको बतान्छ ।

ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि कर्मचारी प्रशासनको आकार घटाउने उद्घोष गरेका थिए। त्यसको नियमन गर्न सरकारी दक्षता विभागका प्रमुख इलन मस्कलाई जिम्मेवारी दिएका थिए। त्यससँगै ट्रम्पले कर्मचारी कटौतीको विषयमा मस्कसँग मिलेर काम गर्न अमेरिकी एजेन्सीहरूलाई निर्देशन दिँदै कार्यकारी आदेश जारी गरेका थिए।

बर्खास्तीमा परेका कर्मचारीहरूले आफूहरू राज्यको धोखाधडीमा परेको गुनासो गरेको रोयटर्सले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us