गुल्मीमा जेसिबीले खसालेको ढुंगाले लागेर आठ वर्षीया बालिकाको मृत्यु

गुल्मी – इस्मा गाउँपालिका–२ टारमा सडक निर्माणका क्रममा जेसिबीले खसाएको ढुंगाले लाग्दा आठ वर्षीया बालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार, छल्दीबाट हस्तीचौर जाने भित्री कच्ची सडक खन्ने क्रममा श्रेष्ठ कन्स्ट्रक्सनको जेसिबीले पल्टाएको ढुंगाले लागेर विष्णु कुमालको ज्यान गएको हो।

मृतक बालिका पालुखा माविमा अध्ययनरत थिइन् र विद्यालय जाने क्रममा दुर्घटनामा परेकी थिइन्। घटनापछि प्रहरीले जेसिबी चालक मकवानपुर इन्द्रचौर गाउँपालिका–४ सिस्नेरीका ३६ वर्षीय राजेश रेग्मीलाई नियन्त्रणमा लिएको छ।

बालिकाका बाबु ज्ञानबहादुर कुमालले विद्यालय समयमा जेसिबी सञ्चालन गरिएको र दुर्घटनापछि छोरीको तत्काल उद्धार नगरिएको भन्दै आक्रोश व्यक्त गरेका छन्। हाल मृतकको शव गुल्मी अस्पतालमा राखिएको छ।

स्थानीयबासीले पनि विद्यालय समयमै निर्माण कार्य सञ्चालन हुँदा सुरक्षामा लापरवाही भएको भन्दै असन्तोष जनाएका छन्। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us