उदयपुर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रको स्वाभिमान नेपाली जनताले संरक्षण गरेका बताएका छन्।
आज प्रजातन्त्र दिवसको अवसरमा उदयपुरको चौदण्डीगढी नगरपालिका–४ बसाहामा प्रजातान्त्रिक योद्धा स्व नारदमुनि थुलुङको पूर्णकदको शालिक अनावरण गर्दै उनले जनताको योगदानबाट राष्ट्रको स्वाभिमान संरक्षण भएको उल्लेख गरे।
मुख्यमन्त्री कार्कीले एक सय १६ वर्ष अगाडि जन्मिएका थुलुङले तत्कालीन भारतीय सेनाको जागीर छोडेर नेपाल क्रान्तिमा होमिएको इतिहास स्मरण गरे।
“उहाँले प्रजातन्त्र प्राप्तिका लागि दिनुभएको योगदानको कदर गर्नुपर्छ”, उनले भने, “शिक्षा, समाजसेवा र स्थानीयलाई बसोबासको व्यवस्था गर्नुभएको थियो।”
बसाहामा नारदमुनि थुलङ स्मृतिसभा हल निर्माण, संस्कृतिको संरक्षण गर्ने प्रतिबद्धता पनि मुख्यमन्त्री कार्कीले जनाए। प्रदेश नामकरणको सवालमा आएका गुनासो जायज भए पनि त्यसको समाधान कानुन र संविधानमा निर्दिष्ट रहेर गर्नुपर्ने उनको भनाइ थियो।
प्रदेशको समृद्धिका लागि सरकारले, फिदिम फाल्गुनन्द, सूर्योदय, तेह्रथुम सङ्खुवासभा, मुन्धुम ट्रेलजस्ता पदयात्राको विकास गरिरहेको मुख्यमन्त्री कार्कीले जानकारी दिए।
कोशी प्रदेशसभाका उपसभामुख सिर्जना दनुवारले थुलुङको योगदानको जति सम्मान गरे पनि कम हुने बताए।