शंकर प्रसाद लुइटेल बैयाकरणिक छिनो-फानो गर्ने तर्फ नलागि सोझै शब्दको अर्थ तिर लागौं | स्व भनेको आफ्नो हो, अथवा यो “नीज”, “नीजि”, “आफू”, “आफ्नो” इत्यादि वाचक शब्द हो | तन्त्र अलिक झन्झटीलो शब्द भए पनि यो अभिव्यक्तिमा प्रयोग हुन आएको अर्थ हेरौं | “तन्त्र” ले ब्यबस्था, पद्दति (अंग्रेजीमा भन्दा सिस्टम) एकातिर देखाउँछ भने संगसंगै सूत्र अथवा धागो (बाँध्ने डोरी) को पनि अर्थ दिन्छ | ता भनेको प्रत्यय हो | प्रत्ययहरू नाउँ, सर्वनाम र विशेषणका पछाडी लगाएर भाव बदल्न प्रयोग गरिन्छन् | अथवा भनौं भावनात्मक अर्थ तिर लैजान प्रत्ययहरु प्रयोग गरिन्छन | यसले नाम, सर्वनाम, क्रियायोग अथवा विशेषणको भावमा सम्बन्ध राख्दछ | “ता” प्रत्यय प्राय: विशेषण संग जोडिएर आउने गर्दछ | उदाहरणको लागि स्वतन्त्र शब्द लिउँ | स्वतन्त्र विशेषण शब्द हो, यसले कर्ताको अवस्था जनाउँछ; जस्तो: राम स्वतन्त्र छ | अब यो शब्दमा ‘ता’ प्रत्यय मिसाउँदा ‘स्वतन्त्रता’ बन्दछ | यसले त्यो विशेषणको भाव बदलेर भावनात्मक अर्थ प्रेरित गर्दछ, अर्थात लुकेको अर्थ बताउँछ | अब अघिको वाक्यमा फेरि समायोजन गरौँ: राम(लाई) स्वतन्त्र(ता) चाहिएको छ | अब यहाँ अघिको ‘स्वतन्त्र’ विशेषण को भाव परिवर्तन भएर अरु नै कुनै भावको चाहना राखेको देखिन्छ | जनेन्द्रीय लाई अंग्रेजीमा जेनाईटल भनिन्छ | पाठकवृन्द प्राय: जनेन्द्रीय शब्दसंग परिचित हुनुहुन्छ | शरीरको मूत्र उत्सर्गगर्ने अंगलाई जनेन्द्रीय भनिन्छ | यो अंगले मन संगको सहकार्यमा मैथुन सम्बन्धि कार्य समेत सम्पन्न गर्दछ | मैथुन ८ प्रकारका हुन्छन: कुविचारले विपरीतलिंगीलाई हेर्नु, त्यससंग वातचित गर्नु, अंग स्पर्स गर्नु, त्यसको स्मरण गर्नु, त्यसको कुरा सुन्नु, त्यससंग एकान्तमा बस्नु, त्यससंग ख्यालठट्टा गर्नु र त्यससंग संगै बसोवास गर्नु | यी आठ मैथुनकर्म मनको उत्प्रेरणाले जनेन्द्रीयसंग मिलेर कार्य सम्पन्न गर्दछन | शास्त्र विपरीतलिंगी लाई आकर्षित गर्न उत्प्रेरक वस्त्र, शृंगार सामग्री इत्यादिको प्रयोगलाई पनि मैथुन नै मान्दछ | स्वतन्त्रता भनेको सर्वोत्तम अवस्था हो, समस्त सनातन शास्त्रको खोजि भनेकै स्वतन्त्रता नै हो | शरीर र तत् सम्बन्धि कुराहरुले स्वतन्त्र आत्मालाई बशमा गरेर कैदी बनाएको हुनाले स्वतन्त्रतालाई पुन: स्थापित गर्नु नै मानवको परम कर्तब्य हो भन्छ शास्त्र | “असङ्गो अयं पुरुष:” इत्यादि वेद मन्त्रले त्यहि स्वतन्त्रताको निरुपण गरेका छन् | शास्त्रीय स्वतन्त्रतालाई एकैछिन हेरौं है त ! आफ्नो इच्छाले समस्त अपरा (लौकिक) ब्यापार (शास्त्रले संयोग र आदान-प्रदान लाई ब्यापार भन्छ) संचालन गर्ने कला नै स्वतन्त्रता हो | आगे: पन्च महाभूत (आकास, वायु, अग्नि, जल र पृथ्वी), पाँच ज्ञानेन्द्रीय (कान, छाला, आँखा, जिब्रो र नाक), पाँच कर्मेन्द्रीय (खुट्टा, हात, वाणी, जनेन्द्रीय र मलद्वार), पाँच तन्मात्रा (शब्द, स्पर्स, रुप, रस र गन्ध), मन, बुद्धि, अहंकार (जसले म भन्ने कुरा चिन्दछ) र चित्त (मूल प्रकृति) यी चौबीस तत्वलाई बिकार मान्छ शास्त्र | यी बिकार र तत्जन्य परिणामले बन्धन निर्माण गर्दछन | ज्ञानेन्द्रीय र कर्मेन्द्रीयको अधिष्ठात्री मन हो | मनले आफ्नो अभिलाषा पूर्ति गराउन यी ज्ञानेन्द्रीय र कर्मेन्द्रीय संचालन गर्दछ | अब निष्कर्षमा भनौं, ज्ञानेन्द्रीय र कर्मेन्द्रीय मनका दास हुन् | यीनको तुलनामा मन स्वतन्त्र छ | मन नभएको अवस्थामा कानले सुनेको पनि नसुनेकै बराबर हुन्छ र यसै गरि अरु अंगहरुको क्रियाकलाप पनि | यसर्थ मन इन्द्रीयहरुको तुलनामा स्वतन्त्र छ | मनको तुलनामा बुद्धि अझ स्वतन्त्र छ | बुद्धिले कतिपय अवस्थामा मनलाई नियन्त्रित गर्दछ | मन भन्दछ कुनै कर्म गरौँ, बुद्धि भन्दछ ‘हेर मन, तेरा लागि यो कर्म उत्तम छैन’ अनि मनले मान्दछ | ईन्द्रीय प्रबल भएका व्यक्तिहरु मनकै बशमा पर्दछन र बुद्धिलाई बेवास्ता गरि मनको निर्णय मान्दछन | अधिकांश यस्तो अवस्थाको परिणाम बिपरित अथवा नराम्रो नै आउँछ | बुद्धि भन्दा पनि अलिक ठुलो अहंकार छ, जसलाई हामी अंग्रेजीमा पर्सनालिटी पनि भन्दछौं | ‘म’ लाई निर्धारण गर्ने र ‘मेरो’ उपयुक्त संरचना निर्माण गर्न सदैव अहंकार लागि रहन्छ | अहंकार पनि चित्तका अधिन छ | चित्तमा तमोगुण चल्यो भने त्यसै किसीमको पर्सनालिटी अथवा अहंकार हुन्छ भने रजोगुण चलेका बेला अलग्गै बिचार आउँछन् | यो दुनियाँ विचित्रको छ, निक्कै मै हुँ भन्नेहरु पनि यहि फेरोमा हार खान्छन भन्छ शास्त्र: प्रकृते: क्रियमाणानि गुणै: कर्माणि सर्वशः | अहङ्कारविमूढात्मा कर्ताहमिति मन्यते || (श्रीमद्भगवद्गीता ३|२७) प्रकृतिका गुणले नै सबै कर्म गरि रहेको हुन्छ तर अज्ञानवश अहंकार (म) आफूलाई कर्ता मान्दछ | यहाँ बाट उता पट्टि लागेको मान्छे बल्ल स्वतन्त्र हुन्छ, जसलाई निर्वाण अथवा मोक्ष पनि भनिन्छ | यो स्वतन्त्रता हासील गर्न कठोर नियमहरु पालन गर्नु पर्दछ | स्वतन्त्रता हासील गर्नुपर्ने गुण हो न कि अधिकार ! यो बाह्य कुरो हुँदै होईन, यो त अत्यन्तै व्यक्तिगत र आत्म-केन्द्रित बिषय हो | जबसम्म व्यक्ति बाह्यकुरामा अलमल्लिएको हुन्छ तव सम्म स्वतन्त्र हुँदैन भन्छ शास्त्र | मन जनित र इच्छा जनित कुरा सबै परतन्त्र हुन् | एउटा उदाहरण हेरौं: एउटा मान्छे भन्छ, ऊ चुरोट पिउन ‘स्वतन्त्र’ छ | ऊ चुरोट पिउन स्वतन्त्र छ अथवा ऊ चुरोटको दास हो यस कुरालाई अलिक गहिरिएर हेरौं है त | चुरोट देख्ने बित्तिकै त्यो व्यक्तिको मन त्यस प्रति आकर्षित हुन्छ र त्यस व्यक्तिमा मन जन्य अष्टमैथुन (चुरोटको समीपमा जानु, चुरोट स्पर्स गर्नु ....... इत्यादि) उत्पन्न हुन्छन | उसको विवेक अथवा बुद्धिले केहि नियन्त्रण गर्न पनि खोज्दछ तर पनि मन यति प्रभावशाली भएर आउँछ कि उसको बुद्धि तथा अहंकार इत्यादिले उसलाई नियन्त्रण गर्न सक्दैन | अन्तत: त्यस व्यक्तिले चुरोट संग सम्भोग कृया सम्पन्न गर्दछ | यो सम्भोगले उसको मन इन्द्रीय कामाधीन हुन्छ, अथवा भनौं त्यस आकर्षणलाई प्राप्त गर्न हरहमेसा लागि रहन्छ | यसकुराको प्राप्तिले चित्तमा “राग” उत्पन्न गर्दछ भने अभावले “द्वेष” | यसरि मन कुनै वस्तुको नित्य चाहना गरिरहन्छ, यसै अवस्थालाई सामान्यतया मूर्च्छा, नशा अथवा दासको अवस्था भनिन्छ | यसरि त्यो व्यक्ति चुरोट पिउन स्वतन्त्र होईन अपितु त्यो चुरोटको दास हो | अब अठार बर्षे र बयस्क संस्कारका कुरा अलग्गै छन् | यसको चरित्र अलिक “स्वतन्त” खालकै छ | यहाँ पाँच ज्ञानेन्द्रीयले जे ग्रहण गर्न सक्दछन र पाँच कर्मेन्द्रीयले जति कार्य गर्दछन, त्यति मात्रै सत्य हो, अरु सब मिथ्या | अहिले एक्काइसौँ शताब्दिमा पुराना कुरा र पुराना लुगा चल्दैनन् ! सबै आ-आफ्नै जेनाईटलको भोग तृप्त पार्न आकर्षित गर्ने पहिरन, श्रिंगार, रहन-सहन, हाऊभाऊ इत्यादि सम्पन्न गर्दछन | यसै किसीमका साहित्य(?) लोकप्रिय छन् र यसै किसीमका कर्म प्रधान छन् | अहिले “मन” को युग छ, त्यहि मन ले सबै कुरा निर्धारण गर्दछ | मन कै डंक पिटेर अहिले अमृकान (अमेरिका) देखि काठान्डौ सबै ‘स्वतन्त्र’ भएका छन्, उखुबारी र पुतलीबजार सबै छरपष्ट देखिन्छ बजारमा | मनमा व्यभिचार, आँखामा दृष्टिभ्रम र कर्ममा आसक्ति सबै जनेन्द्रीय तृप्त गर्न मनले संचालन गरेका गतिविधि हुन् भन्छ शास्त्र | शास्त्रका कुरा को मानोस् ? आफ्नो सूत्र, गुण र पद्दतिमा रहनु स्वतन्त्रता हो | यसको बिपरित अहिलेको दुनियाँ जनेन्द्रीयीय क्रियाकलाप र उत्तेजना बाट मात्रै प्रेरित छ | जनेन्द्रीयलाई अंकुश लगाउनु भनेकै सबै भन्दा ठुलो अपराध सावित भएको छ ! यस्तो अवस्था ‘स्व’तन्त्रता पक्कै होईन, अपितु जनेन्द्रीय-तन्त्रता हो | यसै साता संगीतज्ञ अम्बर गुरुङ अस्ताए | उनी स्वतन्त्र थिए, उनका ब्यबहारबाट प्रष्ट हुन्छ | दु:खेष्वनुद्विग्न-मना सुखेषु विगत-स्पृह:। वीत-राग-भय-क्रोध: स्थितधीर् मुनिर् उच्यते।। (श्रीमद्भगवद्गीता २|५६ ) जो दु:खमा आत्तिंदैन, सुखमा मात्तींदैन, राग, द्वेष, भय क्रोध इत्यादिले छुँदैन, त्यो नै मुनि (मोक्ष/निर्वाण) हो | अभावले उनलाई छोएन, भावले उनलाई रोकेन र उनको बहाव एकैनास निरन्तर चली रह्यो | स्वतन्त्र व्यक्तिले नै परम गति प्राप्त गर्दछन | स्वतन्त्रताको नाउँमा आफ्नो जनेन्द्रीयको अभिमान मात्रै पुष्टि गर्ने भन्दा वास्तविक स्वतन्त्रताको खोजी होस्, सबैलाई स्वतन्त्रता प्राप्त होस् भन्ने कामना सहित | धर्मो रक्षति रक्षित: |