पत्रकारिता तालिममा एआई र सूचना प्रविधिको प्रभाव बारे छलफल

नेपाल पत्रकार महासंघ ललितपुर जिल्ला शाखाले डिजिटल युगमा पत्रकारिताको बदलिँदो स्वरूप र चुनौतीहरूलाई मध्यनजर गर्दै एक दिने विशेष तालिम कार्यक्रम सम्पन्न गरेको छ। फागुन ८ गते बिहीबार महालक्ष्मीस्थनस्थित रिभाइभ लेजर पार्कमा आयोजित तालिममा ललितपुर जिल्लाका विभिन्न सञ्चार माध्यममा कार्यरत करिब १०० जना पत्रकारहरुको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै मिडिया कुराकानीका सम्पादक रविराज बरालले कृत्रिम बौद्धिकता (एआई) ले पत्रकारितामा ल्याएको परिवर्तन र यसको प्रभावकारी प्रयोगबारे प्रकाश पार्नुभयो। उहाँले एआईको प्रयोगले समाचार लेखन, तथ्यांक विश्लेषण र डिजिटल कन्टेन्ट निर्माणमा सहजता ल्याए पनि यसको अन्धाधुन्ध प्रयोगले निम्त्याउन सक्ने जोखिमहरूबारे सचेत गराउनुभयो।

प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष भवानी बरालले पत्रकारितामा डिजिटल प्रविधिको बढ्दो प्रभाव र यसले ल्याएको अवसर तथा चुनौतीहरूबारे विस्तृत जानकारी दिनुभयो। उहाँले सामाजिक सञ्जालको बढ्दो प्रभाव र फेक न्युजको चुनौतीलाई सामना गर्न पत्रकारहरुले आफ्नो डिजिटल दक्षता बढाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो।

राजधानी दैनिकका पूर्व सम्पादक डिल्ली आचार्यले डिजिटल युगमा पनि पत्रकारिताका आधारभूत मूल्य-मान्यता र सिद्धान्तहरू अझै सान्दर्भिक रहेको बताउँदै तथ्यपरक र विश्वसनीय पत्रकारिताको महत्वमाथि प्रकाश पार्नुभयो।

नेपाल पत्रकार महासंघ ललितपुर जिल्ला शाखाका पुर्ब अध्यक्षले डिजिटल र प्रविधिमैत्री पत्रकारिताको विकासका लागि यस्ता तालिमहरू नियमित रूपमा सञ्चालन गरिने बताउनुभयो। उहाँका अनुसार आगामी दिनमा पनि यस्ता क्षमता विकास कार्यक्रमहरू आयोजना गरिनेछ।

बिहान ८ बजेदेखि सञ्चालन भएको तालिममा सहभागी पत्रकारहरुले कार्यक्रम समयानुकूल र प्रभावकारी रहेको प्रतिक्रिया दिएका छन्। विशेषगरी एआई र डिजिटल प्रविधिको प्रयोगले पत्रकारिता क्षेत्रमा ल्याएको परिवर्तन र यसको सदुपयोगबारे प्राप्त ज्ञान उपयोगी हुने सहभागीहरुको भनाइ छ।

यस तालिमले स्थानीय पत्रकारहरुको डिजिटल दक्षता अभिवृद्धि गर्नुका साथै आधुनिक प्रविधि र पत्रकारिताको सन्तुलित प्रयोगमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ। डिजिटल युगमा पत्रकारिताको गुणस्तर र विश्वसनीयता कायम राख्न यस्ता तालिमहरूको नियमित आयोजना गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।कार्यक्रमको समापनमा सहभागी सबै पत्रकारहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us