एजेन्सी । इजिप्टकी टिकटक स्टार एक महिलालाई त्यहाँको अदालतले मानव बेचबिखनमा संलग्न भएको आरोपमा दोषी ठहर गर्दै ३ वर्ष जेल सजाय दिएको छ ।
अदालतले होसमले २०२० देखि लाखौं फलोवर्सहरुको गोपनीयता, अभिव्यक्ति स्वतन्त्रता, गैर–भेदभाव र शारीरिक स्वायत्तताको अधिकार हनन गरेको ठहर गर्दै तीन वर्षको जेल सजाय र २ लाख इजिप्शियन पाउन्ड जरिवाना गरेको हो ।
२० वर्षीया टिकटक स्टार हनीन होसमलाई भिडिओ सेयरिङ प्लेटफर्म मार्फत पैसाका लागि महिलाको शोषण गरेको भन्दै तीन वर्षको जेल सजाय सुनाइएको होे । यद्दपी उनले आफूमाथिको आरोप अस्वीकार गर्दै आएकी छिन् ।
उनले गत वर्षको अप्रिलमा आफूलाई पछ्याउने महिलाहरूलाई अर्को भिडिओ साझेदारी प्लेटफर्म लाइकमा सामेल हुन अनुरोध गर्दै लाइभमा बसेर पैसा कमाउन सक्ने अफवाह फैलाएको आरोपमा पक्राउ परेकी थिइन् । तर, एक पुनरावेदन अदालतले जनवरी २०२१ मा होसमलाई सफाइ दिएको थियो । अभियोजकहरूले मानव बेचबिखनको थप गम्भीर आरोप पेश गरेपछी उनी पुन पक्राउ परेकी हुन् ।