काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कांग्रेस–एमाले नेतृत्वको सरकारले बहुदलीय लोकतन्त्रलाई चुनौति दिँदै दुई दलीय शासन व्यवस्था अघि बढाउन खोजेको आरोप लगाएका छन्।
शुक्रबार पार्टी केन्द्रिय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले वर्तमान सरकार दुई दलीय व्यवस्थाको नाममा एकदलीय तानाशाही व्यवस्था लागू गर्न खोजेको आरोप लगाएका हुन्। साना र प्रतिष्पर्धी दलहरुलाई समाप्त पारेर सिंगो देशमा तानाशाही लागू गर्ने कुचेष्टा भइरहेको उनको भनाइ छ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै संविधान मिच्न बानी परेकाहरु कानुन मिच्न पनि त्यत्ति नै अग्रसर देखिएको टिप्पणी गरे। उनले सरकारले संसदको नियम र नियमावलीसमेत मिच्ने काम गरिरहेको आरोप लगाए। उनले वर्तमान सरकार आलोचकको घाँटी निमोठ्ने गरी प्रश्तुत भइरहेको समेत उल्लेख गरे।
उनले देशभित्र छुवाछुत र महिला बलात्कारका घटनाहरु बढिरहेको भएपनि अपराधीहरु दण्डित नभएको जिकिर गरे। उनले समाजमा विद्यमान समसस्याहरूको समाधान गर्न पार्टी संगठनलाई थप बलियो बनाउँदै लैजानुपर्ने बताए।
उनले भने, ‘हाम्रो देशमा अहिले जुन सरकारले शासन गरिरहेको छ त्यो बहुदलीय लोकतन्त्रको मान्यतालाई चुनौति दिँदै दुईदलीय साशन व्यवस्थालाई अघि बढाउन खोजिरहेको छ। दुई दलीयको नाममा एकदलीय तानाशाही लाग्ने सोचभन्दा त्यो भिन्न कुरा छैन। यी सबै कुराहरुको सन्दर्भमा साना दलहरुलाई समाप्त पार्ने, प्रतिष्पर्धी दलहरुलाई समाप्त पार्ने र अनेक किसिमका नियन्त्रणका तौर तरिका अपनाएर सिंगो देशमा तानाशाही लागू गर्ने कुचेष्टा गरिरहेको छ। संविधानलाई मिच्ने बानि परिसकेका व्यक्तिहरु कानून मिच्न पनि त्यत्ति नै अग्रसर भएका छन्।’
उनले पार्टीबारे समाजमा विभिन्न कुप्रचारहरु गरिएको उल्लेख गर्दै त्यस्ता कुप्रचारको भ्रममा नपर्न नेता कार्यकर्ताहरुलाई आग्रह गरे।