ताप्लेजुङको पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा

ताप्लेजुङ । ताप्लेजुङको धार्मिक पर्यटकीय स्थल पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा केबलकार निर्माणको विरोध चर्किएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

आज बिहान ५ बजेबाट लागू हुनेगरी जिल्ला सुरक्षा समितिको बैठकले फुङलिङको बजार क्षेत्र र काफ्लेपाटीको बल्लुडाँडा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो । ‘नो केबलकार’ पक्ष र प्रहरीबीच शनिबार साँझ फुङलिङ बजारको वीरेन्द्र चोकमा झडप भएको थियो । सो क्रममा केही व्यक्ति घाइते भएका थिए ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार प्रदर्शन र जुलुसका कारण स्थानीय स्तरमा प्रतिकूल स्थिति सिर्जना भई शान्ति सुरक्षा भंग हुन सक्ने परिस्थिति देखिएपछि शनिबार राति बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

प्रशासनले निषेधाज्ञा जारी भएको क्षेत्रमा पाँचजनाभन्दा बढी व्यक्ति भेला भएर सभा, जुलुस, प्रदर्शन गर्न पनि रोक लगाएको छ ।

फुङलिङ नगरपालिका बजार क्षेत्र पूर्व फुङलिङ–७, सल्लेरी, पश्चिम फुङलिङ–७, घोडेचौर (थलाङ धारा क्षेत्रसम्म) र उत्तरमा उकालीपानी तथा दक्षिणमा शेर्पा टोल (भेटनरी कञ्चनजंघा टोल)सम्म निषेधाज्ञा क्षेत्रको सीमा तोकिएको छ ।

यस्तै, काफ्लेपाटीको बल्लुडाँडा क्षेत्र, पूर्वतिर पर्यटक प्रहरी भवनको १०० मिटर इलाका, पश्चिममा बल्लुडाँडा र डडेले इलाका, उत्तरतिर केबलकार बेस स्टेशन र दक्षिणमा नयाँ बसपार्क इलाकाको १०० मिटर (जंगल इलाका समेत)लाई समेत निषेधाज्ञा क्षेत्र तोकिएको छ । निषेधाज्ञा उग्लघन गर्नेलाई कानुनअनुसार कारबाही गरिने जिल्ला प्रशासनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us