शंकर प्रसाद लुइटेल
“सुन्दरता हेर्ने व्यक्तिको आँखामा निर्भर गर्दछ (ब्युटी लाईज इन द आईज अफ द बिहोल्डर” भनेर प्रसिद्ध कवि जोन डनले भने | अर्का कवि जोन किट्सले सुन्दरता व्याख्या गर्दै भने: “सुन्दरता नै सत्य हो, सत्य नै सुन्दरता (ब्युटी इज ट्रुथ, ट्रुथ इज ब्युटी)” ! संस्कृत साहित्यमा त्यस्तै कुरो छ: “सत्यम् शिवम् सुन्दरम्” | कवि जोन डनको उद्घोस समर्थन गर्न एउटा पन्जाबी कथा “लैला-मजनु”मा आधारित गीत सान्धर्विक ठानेको छु:
किसे वल ऑखिया मजनू नूं, ओए तेरी लैला दिसदी काली वे
मजनू मुड़ जवाब दित्ता, ओ तेरी अक्ख न वेखण वाली ए
जे तु वेखे मेरी आँखनार, ओ तेरी सुरत नजाए सम्भाली ए
वेद वी चिट्टे ते कुरान वी चिट्टी विच श्याही रख दित्ती काली ए
गुलाम फरीद जित्थे अखियां लगियां ओथे की गोरी की काली वे…..
सन्धर्भ भनेको सुन्दरता हेर्ने मान्छेको आँखामा नै निर्भर गर्दछ | काली लैला लाई परम सुन्दरी देख्ने मजनुको आँखाको सुन्दरताको परख आम मानिसको स्वाद भन्दा फरक थियो | ज्ञानेन्द्रीयको सुचना ग्रहण गर्ने व्यक्तिमा त्यसको असर निर्भर हुन्छ | जस्तो: सबैको जिब्रो उस्तै हुन्छ तर मन पर्ने स्वादको गणना भने हरेक व्यक्तिको अलग अलग हुन्छ | त्यसो भन्दैमा त्यो मूल परिकारको स्वाद फेरिने भने होईन, केवल खाने मान्छेको “मन” को कुरो मात्रै फरक फरक हुन्छ | हामीले जाडो याममा धेरै मान्छे एकदमै हलुका र गर्मीमा लगाउने किसीमका पोसाकहरू लगाएर हिंडेको देखेका छौं | आफू भने दश-खाप लुगा कसेर हिंड्दा समेत जाडोले लुगलुग कामीरहेको अवस्थामा जाडो चाहिं “म”लाई मात्रै लाग्छ कि क्या हो भन्ने समेत लाग्दछ | तर जसले जुन मात्रामा जाडोको अनुभूति गरे पनि समग्र वातावरणको तापक्रम भने एउटै हुन्छ | यसले पनि त्यहि कुरो सिद्ध गर्दछ |
आगे हेरौं सुन्दर के हो भनेर | सुन्दरता सापेक्ष हुन्छ, के भन्दा/को भन्दा/कस्तो भन्दा इत्यादि समीकरण मिलाउनु पर्ने हुन्छ | कुनै पनि वस्तु साश्वत अथवा निरपेक्ष सुन्दर हुँदैन | एउटा भनाई छ, “द फ्लावर इज ब्लुमिंग टुडे, इनएविटेबल टु फेड टुमरो” अथवा जुन फुल आज फक्रिएको छ, त्यो भोलि ओइलाउनु अवस्यम्भावी छ | कुनै पनि दृश्य-दृष्टि क्षणिक मात्रै हुन्छ | केही समय अथवा क्षण का लागि देखिने दृश्यलाई नै हामी राम्रो अथवा नराम्रो भन्ने गर्दछौं | यो ब्याख्या कुनै निश्चयबोधक घोषणा नभएर एकै छिनको अवस्थितिको चित्रण जस्तो मात्रै हो | हिजोको फोहोर वाग्मती किनार आज “सुन्दर” भएको छ | भोली फेरी फोहोर हुन सक्दछ | चक्रीय प्रणालीमा कुनै अवस्थालाई हामी सुन्दर भन्छौं भने कुनै लाई कुरूप | आज फूल सुन्दर छ, भोली कुहिन्छ, कीरा स्याऊँ स्याऊँ पर्छन, त्यति बेला त्यसको सुन्दरता कहाँ गयो ? आज सोह्र-सत्र बर्षको जवानीमा देखिने सुन्दरता भोली चालीस/पैंतालीसमा पुग्दा कता हराउंछ भन्ने कुराको पत्तो हुँदैन | केही वस्तुमा क्षणिक रूपले उत्पन्न भएको अवस्था नै सुन्दरता हुन सक्ने अनुमान लगाउन सकिन्छ | त्यसो भए के यो सुन्दरताको अवधारणा भ्रम मात्रै हो त ?
सम्पूर्ण ब्रह्माण्ड र दृश्यमान-अदृश्य जगत समयको बिकारको अवस्था मात्रै हो भन्छ वेदान्त | न त यहाँ कुनै कुरो साश्वत छ न कुनै अविनाशी ! जो जन्मन्छ त्यो अवश्य मर्दछ | यो नियम कुनै अवस्थामा भंग हुँदैन, तपाईं-हामीले मान्दा अथवा नमान्दा त्यो नियमलाई कुनै फरक पर्दैन | कोलमा पेल्न राखेको तोरीको एउटा दानोले मान्दा अथवा नमान्दा तेल पेल्ने प्रकृया अवरुद्ध हुँदैन अनि त्यो प्रकृया उसको आग्रहका निमित्त फेरिँदैन | यो नै सृष्टिको नियम हो | अर्को गजब कुरो के छ भने, यो नियम समेत अवस्थाको विकार मात्रै हो भन्छ वेदान्त ! नियमको बिकार संसार, ब्रह्मको बिकार नियम ! ब्रह्म सत्य जगत मिथ्या ! आफू बाँधींदैन तर जब जगतमा दृश्यमान हुन्छ अथवा देखिन्छ तव बाँधिएको जस्तो ब्यबहार गर्दछ ब्रह्मले भन्छ वेदान्त | मान्छे दुई अवस्थामा हराउंछ, एउटा अत्यन्तै बिशाल अवस्थामा जस्तो ब्रह्माण्डको अध्ययनमा, र अर्को अत्यन्तै सुक्ष्म अवस्थामा जस्तो ‘क्वान्टा’ अवस्थामा | यी दुई अवस्थामा कुनै पनि सिद्धांत काम लाग्दैनन | यो दुई अवस्था दिमागको क्षमता भन्दा अलिक पर भएका हुनाले यीनलाई “थ्योरी अफ अनसर्टेन्टी” अथवा अनिश्चितताको सिद्धांत भनेर आफ्नो हार स्विकार्नुको बिकल्प छैन हामीसँग | अस्ति भर्खर गुरुत्वाकर्षणको तरंग नाप्न सकियो भनेर बैज्ञानिक युगको अधिकतम उपलब्धि मानिएको छ | यदि त्यही साधारण सापेक्षवादको सिद्धांत सही हो भने यो अहिले रहिरहेको गुरुत्वाकर्षण बल धान्न दैनिक कति ब्ल्याक होल ठोकिंदा हुन ? एक दिन ती सबै ब्ल्याक होल सकिने हुन अथवा नयाँ नयाँ ब्ल्याक होल को फ्याक्टरी खुली रहने हुन ? अनुमान लगाउन कठीन छ | यो कठीन यात्राको सार भनेको नै दृश्यमान जगत लाई मिथ्या स्वीकार्नु हो, टन्टै सकियो ! नयाँ युगको सुन्दर संगीत पुरानो पुस्तालाई हो-हल्लाको घर मात्रै हुन्छ | नयाँ आधुनिक कलाकृति पुराना मान्छेलाई “कन्फ्युजन” को अभिव्यक्ति शिवाय केहि लाग्दैन | अलिकति बिसन्चो हुँदा अथवा थोरै मात्रै पनि दिमागी अवस्था फरक हुँदा फरक पर्ने त्यो सुन्दरता प्रतिको दृष्टिकोण ले त्यो वस्तुको सुन्दरता माथि कुनै प्रभाव पार्छ कि पार्दैन ? उदाहरणको लागि कसैलाई समुन्द्र अत्यन्तै सुन्दर लाग्ला, कसैलाई अत्यन्तै भयानक ! अब ती दुईवटा दृष्टिकोणले समुन्द्रलाई कुनै फरक पर्छ अथवा पर्दैन ? यो प्रश्न को हल भनेको नै सुन्दरता बुझ्ने कडी हो | कुनै पनि वस्तु आफैंमा सुन्दर अथवा कुरुप हुँदैन | यो त्यो वस्तु अथवा दृश्य देख्ने व्यक्तिको भावले निर्धारण गर्ने अवस्थिति हो | यो अवस्थितिको विशेषण भनेको नै “सुन्दरता” हो | यो अवस्थिति भएका हुनाले शाश्वत अथवा निरपेक्ष हुँदैन | त्यसैले सुन्दरता भनेको पनि एकै छिन देखिएको भ्रम मात्रै हो | यहाँ सिद्धान्त पनि भ्रम मात्रै हुन्, हिजो सापेक्षवादको बोलवाला थियो, आज उत्तर-आधुनिकवादको बोलवाला छ | निरपेक्ष सत्य केहि छैन यो दृश्यमान जगतमा यदि यहि दृष्टिकोणले मुल्यांकन गर्ने हो भने ! अर्को सिद्धान्त छ, दृष्टिकोण फेरियो भने सुन्दरताको व्याख्या फेरिन सक्छ | फुल न हिजो कुरूप थियो, न भोलि ओइलाउंदा नै कुरूप हुन्छ, त्यो एउटा अवस्था बाट अर्को अवस्थामा परिवर्तन मात्रै भएको हो, हाम्रो दृष्टिकोण मात्रै फरक भएको हो भनेर स्वीकार्ने हो भने यो जीवन र दृश्यमान जगत अत्यन्तै सुन्दर छ, यसका कष्ट, रोग बिराम इत्यादि देखि जे जति पनि भोगाई हरू छन्, सबै अतुलनीय सुन्दर छन् | सुन्दरता लाई अवस्था मानेर जीवन नै सुन्दर बनाएर अनुभव गरौँ भन्ने कामना सहित ! धर्मो रक्षति रक्षित |