काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले स्थानीय निर्वाचन केन्द्रीत घोषणापत्र सार्वजनिक गरेको छ । काठमाडौंको सभागृहमा मंगलवार आयोजित एक कार्यक्रमकाबीच एकीकृत समाजवादीले घोषणापत्र सार्वजनिक गरेको हो । “जनमुखी स्थानीय सरकार, विकास र समृद्धिको आधार” नाराका साथ सार्वजनिक घोषणा पत्रमा ३ खण्ड रहेका छन् ।
घोषणापत्रको पृष्ठभूमीमा हाम्रो विद्रोह, पार्टी पुनर्गठन र स्थानीय सरकारसम्बन्धी दृष्टिकोण शीर्षकमा नेकपा एमालेसँग विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुपर्नको कारण उल्लेख छ । नेकपा (एमाले) को नेतृत्वमा विकसित भएको दक्षिणपन्थी अवसरवाद, गैरकम्युनिस्ट विचार, आचरण, तानाशाही र षड्यन्त्रकारी कार्यशैली सुधार्न नसकिने ठहर गरिसकेपछि विद्रोह गर्नपरेको उल्लेख गरिएको छ ।
स्थानीय विकासका सन्दर्भमा विगतका अनुभव एवं शिक्षा तथा स्थानीय सरकारका माध्यमबाट जनसेवा गर्न सकिने बारेमा पार्टीको प्रतिवद्धता लगायतका विषय समेटेर स्थानीय निर्वाचन घोषणापत्र–२०७९ जारी गरेको उल्लेख छ । एकीकृत समाजवादीले आगामी निर्वाचनमा कलम चुनाव चिन्ह लिएर जनताका माझमा उपस्थित हुन लागेको जानकारी पनि गराएको छ ।