काठमाडौं । सरकारले ५० करोड रुपियाँ बराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बुधबारदेखि ५० करोड रुपियाँको वैदेशिक रोजगार बचतपत्र पाँच वर्षे अवधिको लागि निष्कासन गरेको छ । उक्त बचतपत्र आगामी चैत १५ गतेसम्म खरिद गर्न सकिनेछ ।
वार्षिक ८.५ प्रतिशत ब्याजदर रहेको बचतपत्र न्यूनतम १० हजार रुपियाँदेखि अधिकतम १० हजार रुपियाँले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरेको रकमसम्म लगानीकर्ताले खरिद गर्न पाउनेछन् ।
बचतपत्र मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्य (बुबा, आमा, श्रीमान्, श्रीमती छोरा, छोरीमात्र)को नाममा खरिद गर्न सक्ने छन् ।
बचतपत्र खरिद गर्न चाहनेहरूले सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको बेबसाइटबाट खरिद गर्न सक्नेछन् ।
त्यस्तै, बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन र जुनसुकै बेला दोस्रो बजारमार्फत खरिदबिक्रीसमेत गर्न सकिने कार्यालयले जनाएको छ । सरकारले आन्तरिक ऋण उठाउने एक माध्यमको रूपमा बचतपत्रको प्रयोग गर्ने गर्दछ ।