काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा प्रचलित सबै जाति तथा समुदायका मौलिक पर्वले सामाजिक सद्भाव एवं राष्ट्रिय एकता सुदृढ गर्न महत्वपूर्ण योगदान गर्ने बताएका छन् ।
शेर्पा समुदायको सांस्कृतिक पर्व ग्याल्पो ल्होसारका अवसरमा शुभकामना दिँदै उनले सबै नेपालीबीच विविधतामा एकता, सद्भाव, बन्धुत्व एवं सम्मान कायम गरी राष्ट्र निर्माणमा अग्रसर हुनुपर्ने बताए ।
बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त हाम्रो देशका विभिन्न समुदायका रीति, परम्परा र संस्कृति हाम्रा मौलिक पहिचान र बहुमूल्य सम्पत्ति भएको बताउँदै उनले सबै जातजाति तथा समुदायको भाषा, संस्कृति तथा पहिचानको संरक्षण गर्नु राज्यको कर्तव्य भएको बताएका छन् ।
शेर्पा समुदायले नयाँ वर्षका रुपमा मनाउने ग्याल्पो ल्होसारले एकापसमा सहयोग, सामाजिक सहिष्णुता तथा आर्थिक प्रगति कायम गर्न सबैमा प्रेरणा प्रदान गर्ने उनले विश्वास व्यक्त गरेका छन् ।