उदयपुर र खोटाङ जोड्ने धाप्लाङघाटमा पक्की पुल बन्दै

गाईघाट । सुनकाशी नदीस्थित उदयपुर र खोटाङ जोड्ने धाप्लाङघाटस्थित पक्की पुल निर्माण तीव्र गतिमा अगाडि बढेको छ । यसअघि कोशीमा आएको बाढीको कटानबाट खोटाङपट्टिको पिल्लर बाङ्गिएपछि पुल निर्माणको काम अन्योलग्रस्त भएको थियो । खोटाङबाट निर्वाचित प्रदेश सभा सदस्य एवं वर्तमान कोशी प्रदेशका भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राई तथा उदयपुर–१ का सङ्घीय सांसद डा. नारायण खड्काको निरन्तर प्रयासपछि निर्माण कम्पनीले पुल निर्माणको कामलाई अगाडि बढाएको हो । यो पुलले खोटाङको वराहा पोखरी गाउँपालिका–२, सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४, साउने जोड्छ ।

पुल निर्माणको ठेक्का पाएको निर्माण कम्पनी रसुवा स्वच्छन्द पप्पु जेभी काठमाडौँका ठेकेदारको गैरजिम्मेवारीका कारण पाँच वर्ष पहिले नै अर्थात् २०७६ असार मसान्तमा निर्माण सम्पन्न भई सञ्चालनमा आउनुपर्ने उक्त पुल हालसम्म पनि बन्न सकेको छैन । सो निर्माण कम्पनीले २२ करोड २५ लाख रुपियाँमा सम्झौता भएको मितिदेखि ३६ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी पुल योजना पूर्वी क्षेत्र सेक्टर नं. १ धरानसँग २०७३ असार ३० गते सम्झौता गरेको हो ।

दुवैपट्टि फुटपाथसहित १० मिटर चौडाइ र ४० मिटर लम्बाइका पाँच वटा स्पानसहित दुई सय मिटर लम्बाइ रहेको र जगको किसिम ओपेन वेल फाउन्डेसन भएकोमा निर्माण कम्पनी रसुवा स्वच्छन्द पप्पु जेभी काठमाडौँले काम गर्न नसकेपछि पछिल्लो समय रसुवा निर्माण कम्पनी एक्लैले पाइलिङ फाउन्डेसनको डिजाइन परिवर्तन गरेर निर्माणको काम गर्दै आएको कम्पनीका प्रतिनिधि रमेशकुमार न्यौपानेले बताउनुभयो ।

अहिले कोशीको भित्री भागमा निर्माण हुने पिल्लरको २० मिटर गहिराइको पाइलिङ गर्ने काम सम्पन्न गरिएको र अब पाइलिङ क्याप निर्माणका व्रmममा कोशीको पानीले बाधा गरेको र नियमित रूपमा काममा निकै नै सकस परेकाले भारतबाट ८० लाख रुपियाँ मूल्यको एक सेट सिटपायल ल्याएर निर्माण कार्यलाई निरन्तरता दिइएको कम्पनी प्रतिनिधि न्यौपानेले बताउनुभयो । उहाँका अनुसार आउँदो जेठभित्रमा पिल्लर निर्माणको काम सम्पन्न गरी दुई वटा स्ल्याबसमेत लगाउने गरी दु्रत गतिमा काम अगाडि बढाउँदै लगिएको छ ।

तत्कालीन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २०७४ भदौ ३१ गते शिलान्यास गर्नुभएपछि सुरु गरिएको सो पुल २०७६ सालमा निर्माण सम्पन्न हुने गरी सम्झौता भएको हो । पुलको निर्माण रोकिएपछि सम्बन्धित कार्यालयले निर्माण कम्पनीलाई कालो सूचीमा राखेर आवश्यक कारबाही अगाडि बढाउने तयारी गरेको थियो । पुनः २०८० फागुन २८ देखि डिजाइन परिवर्तन गरेर ‘पाइल’ फाउन्डेसनको काम भइरहेको छ ।

खोटाङबाट निर्वाचित प्रदेश सभा सदस्य एवं वर्तमान कोशी प्रदेशका भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले विगत करिब सात वर्षसम्म अलपत्र अवस्थामा गुज्रिरहेको यो पुल सङ्घीय सरकारको बजेटबाट निर्माण गर्नुपर्ने काम भएकाले आपूmले बारम्बार सङ्घीय सरकारसँग बजेट निकासाका लागि पहलकदमी गरेर अहिलेको अवस्थासम्म ल्याई पु¥याएको र अब पनि आफू निरन्तर लागिरहने बताउनुभयो । गोरखापत्र अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us