ठेकदारको लापरबाहीले रामेछाप कोलन्जोर घाटको पुल वर्षौँदेखि अलपत्र

रामेछाप । ठेकेदारको लापरबाहीका कारण कोलन्जोर घाटमा निर्माणाधीन पक्की पुल अलपत्र बनेको छ।

रामेछापलाई मध्यपहाडी राजमार्गमा जोड्नका लागि रामेछाप नगरपालिकाको रामपुरस्थित कोलन्जोर घाटको सुनकोशी नदीमा निर्माणाधीन यो पुल चार वर्षअघि नै बनिसक्नुपर्ने थियो। त्यसयता लगातार म्याद थपिए पनि निर्माण पूररा भएको छैन। २०७७ मै सम्पन्न हुनुपर्ने उक्त पुलको म्याद यही २०८१ साल चैत २० गतेसम्म थपिएको छ। म्याद सकिन एक महिना बाँकी रहँदा बाँकी काम शुरु नै हुनसकेको छैन।

रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपानेले पुल निर्माणका लागि ताकेता गरिरहेको भए पनि व्यवसायीले चासो नगरेको बताए। उनले भने, ‘यो पुल चाँडो सम्पन्न गराउनधेरै पटक सरकारका विभिन्न निकायमा धाएँ तर हालसम्म काम शुरु भएन। अन्तिम पटक थपिएको म्याद सकिन पनि अब एक महिना मात्रै छ तर हालसम्म काम शुरु नै भएको छैन।’

सडक विभागको पुल सेक्टर आयोजनाले २०७४ सालमा पुलको ठेक्का लगाएको थियो। शङ्करखोला दोभान पुल आयोजना नामको यस पुल ‘डिजाइन एन्ड बिल्ड’ प्रक्रियाबाट निर्माण थालिएको थियो। अनक महावीर जेभीले पुल निर्माणको जिम्मेवारी पाएको थियो। १९० मिटर लामो पक्की पुल निर्माणका लागि २३ करोड ६८ लाख ६७ हजार ३५० रुपैयाँ (भ्याटसहित) मा सम्झौता भएको थियो।

यो पुलले मध्य पहाडी राजमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका र रामेछापको रामेछाप नगरपालिका जोड्ने गरेको छ। पुलको स्ल्याब ढलानको काम भइसकेको छ तर पुलमा आउने ‘एप्रोच’ सडक पुल नजिक लगाउनुपर्ने ‘रिटेनिङ वाल’ र ‘रेलिङ’को काम बाँकी छ।

सडक विभाग, पुल आयोजना सेक्टरका इन्जिनियर नेत्रविलास पौडेलले पुलको काम अगाडि बढाउन कार्यालयबाट पटक-पटक मौखिक तथा लिखित अनुरोध गरे पनि निर्माण व्यवसायीले अटेर गरिरहेको बताए। ‘निर्माण व्यवसायीले लगातार काम गर्ने हो भने बढीमा दुई महिनाभित्र पुलको सम्पूर्ण काम सकिन्छ तर उहाँहरू चाँडै गर्छौँ भन्नुहुन्छ तर साइडमा कामदार पठाउनुहुन्न, उनले भने।

पुलसँगै काम सुरु भएको ओखलढुङ्गा जोड्ने सुनकोशी नदीको पुल भने यसअघि नै सम्पन्न भई सञ्चालनमा आइसकेको छ। हाल बीपी राजमार्गमार्फत सिन्धुलीको खुर्कोट, रामेछापको मन्थली हुँदै ओखलढुङ्गाको खिजी फलाटे, गाम्नाङ, घोराखोरीलगायत स्थानहरूमा यातायातका साधनहरू सञ्चालन भइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us