बासुदेव पोखरेल
गुल्मी । गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका वार्ड नम्बर ४ जैसीथोकमा रहेको देविस्थान दुग्ध सहकारी संस्था लिमिटेडमा स्वच्छ दूध उत्पादन तालिम सम्पन्न भएको छ।
जनविकास केन्द्र गुल्मीको आयोजनामा धुर्कोट गाउँपालिका, हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन भएको उक्त तालिम धुर्कोट कृषि तथा पशु उद्यमशिलता बिकास परियोजना अन्तर्गत दुध उत्पादन गर्ने किसानहरूलाई लक्षित गरी प्रदान गरिएको थियो।
तालिमको अध्यक्षता देवीस्थान दुग्ध सहकारीका अध्यक्ष उदय नन्द पोखरेलले गर्नुभएको थियो । धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलको प्रमुख आतिथ्यता तथा रहनुभएको परियोजनाका संयोजक भरत भण्डारीले तालिमबारे जानकारी गराउनुभएको थियो ।

तालिम पशु चिकित्सक डा. उरुसा श्री पोखरेलले सहजीकरण गर्नुभएको थियो। उहाँले स्वच्छ दूध उत्पादनका लागि उचित सरसफाइ, पशुमा लाग्ने रोगहरूको रोकथाम, पशुपालनमा अपनाउनुपर्ने वैज्ञानिक विधिहरू लगायतका विषयमा जानकारी गराउनुभयो।
प्रमुख अतिथी गाउँपालिका अध्यक्ष पोखरेलले धुर्कोटलाई कृषि संगै दुग्ध उत्पादनमा देशकै नमुना पालिका बनाउने उदेश्य रहेको र सवैले आफ्नो ठाउँबाट सहयोग गर्दै उत्पादनमा लाग्न जोड दिनुभएको थियो । उहाँले स्थानिय क्षेत्र संगै सदरमुकाम लक्षित दुग्ध व्यापार भैरहेको र यसलाई बढाउनका लागि किसानहरुलाई प्रोत्साहन पालिकाले समेत गर्ने बताउनुभएको थियो ।
कार्यक्रममा धुर्कोट गाउँपालिका–४ का वडा अध्यक्ष वीरबहादुर कुँवर, वडा सचिव अशोक खनाल, पत्रकार बासुदेव पोखरेल लगायतको उपस्थिति रहेको थियो। तालिममा स्थानीय किसानहरूको उल्लेखनीय सहभागिता रहेको थियो।