पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन हुँदै : ज्ञान, सीप, पुँजी तथा प्रविधिबारे छलफल हुने

काठमाडौं । वैदेशिक रोजगारीमाथिको बढ्दो निर्भरता कम गर्न आन्तरिक रोजगारीमा वृद्धि गर्ने उद्देश्य र लक्ष्यसहित पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भोली फागुन २६ र २७ गते काठमाडौंमा रोजगार सम्मेलन गर्ने जानकारी दिएको हो ।

मन्त्रालयले होटल याक एन्ड यतिमा हुने सम्मेलनको तयारी पू्रा भएको जनाएको छ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न क्षेत्रका ५ सयजना सम्मेलनमा सहभागी रहने अपेक्षा गरेको छ ।

मन्त्रालयले यसअघि २०५४, २०६१, २०६९ र २०७६ साल गरी ४ पटक रोजगार सम्मेलन गरिसकेको छ । सम्मेलनमा रोजगारी सिर्जनासँग सम्बन्धित तीनै तहका सरकार, श्रम तथा रोजगार विषयसँग सम्बन्धित व्यवसायी र अनुसन्धानकर्ता, विषयविज्ञ, विकास साझेदार, निजी क्षेत्र, ट्रेड युनियन, गैरसरकारी क्षेत्रका विज्ञलाई सहभागी गराउने तयारी रहेको छ ।

यससम्बन्धी जानकारी दिन बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा श्रम , रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले यसअघि मन्त्रालयले गरेको रोजगार मेला र रोजगार सम्मेलनको प्रकृतिमा व्यापक अन्तर रहेको दाबी गर्दै सम्मेलनमार्फत प्राप्त सुझाव र पृष्ठपोषण मन्त्रालयले बनाउने घोषणा गरेको १० वर्षे आन्तरिक रणनीतिक योजनामा पनि समावेश गरिने बताउनुभयो ।

सम्मेलनमा वैदेशिक रोजगारी र आन्तरिक रोजगारीका क्षेत्रमा रहेका चुनौतीहरूको विश्लेषण गरी नीतिगत सुधार र कानुनी व्यवस्थाहरूमा परिमार्जनका लागि सुझाव लिई रोजगारयोग्य वातावरण सिर्जना गर्ने विषयलाई बढी केन्द्रित गर्ने मन्त्रालयले बताएको छ ।

सम्मेलनका लागि श्रम सचिव कृष्णहरि पुष्करको संयोजकत्वमा मूल समारोह समिति बनाइएको छ । रोजगारी सिर्जनामा निजी क्षेत्रको मुख्य भूमिका हुने भए पनि आन्तरिक रोजगारी प्रवद्र्धनमा ३ तहका सरकार, सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगारीबाट फर्केका कामदार र उनीहरूले प्राप्त गरेको ज्ञान, सीप, पुँजी तथा प्रविधिको उपयोगलगायतका विषयमा छलफल गरी रोजगार नीतिमा समयसापेक्ष परिष्कृत गर्न जरुरी रहेको मन्त्रालयले जनाएको छ ।

सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल होटल संघ, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ, ट्रेड युनियन प्रतिनिधि, नेपाल सुन–चाँदी व्यवसायी संघ, रिटर्नी कामदारलगायत करिब ३ दर्जन संस्था र विज्ञहरूको सहभागिता रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us