राजतन्त्र आउँछ भनेर नहौसिन पूर्वराजा ज्ञानेन्द्रलाई गृहमन्त्रीको चेतावनी

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प राजतन्त्र नहुने भन्दै पूर्व राजा ज्ञानेन्द्र शाहलाई नहौसिन चेतावनी दिएका छन् । आइतबार सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले फालिसकेको राजाले पनि लोकतन्त्रको उपयोग गरिहेको बताउँदै त्यसलाई कमजोरीका रूपमा नलिन पनि चेतावनी दिएका हुन् ।

जनताले आन्दोलन गरेर फालिसकेको राजसंस्था र राजालाई लोकतन्त्रमा प्रवेश गरिसकेका जनताले फेरि फर्काएर ल्याउँछन् भनेर कसैले विश्वास गर्न नहुने उनको भनाई थियो । ‘केही मानिसहरूले र पूर्वराजाले गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भनेर भ्रम फैलाइरहेका छन्,’ उनले भने, ’त्यो भ्रमबाट राजा हौसिन आवश्यक छैन ।’

उनले आन्दोलनबाट फालिसकेका राजा नेपालमै बसेर सबै स्वतन्त्रता उपभोग गरेको इतिहास विरलै हुने बताए । ‘सामान्यतयाः आन्दोलनबाट वा क्रान्तिबाट फालिएको राजसंस्थाका राजा आफ्नै देशमा सबै स्वतन्त्रता उपभोग गरेर बसेको इतिहास विरलै देखिन्छ,’ उनले भने, ‘यो लोकतन्त्रको सुन्दरता हो ।’

गृहमन्त्रीले नेपालको लोकतन्त्र संयमित, उदार, परिस्कृत र सहिष्णु रहेको बताउँदै यसलाई कमजोरीका रूपमा नलिन राजा र उनका समर्थकहरूलाई चेतावनी दिए ।

‘नेपालको लोकतन्त्र यति संयमित, उदार, परिस्कृत र सहिष्णु छ कि जनताले फालिसकेको राजतन्त्रका राजा पनि सबै स्वतन्त्रता र अधिकारलाई उपभोग गरेर बसिराख्नु भएको छ,’ उनले भने, ‘यसलाई लोकतन्त्रको कमजोरीका रूपमा कसैले पनि नलिओस् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us