काठमाडौं । इटहरीमा बिवाहको मण्डपबाटै बेहुला बेहुलीसहित ६ जना पक्राउ परेका छन् । बालबिवाह भइरहेको थाहा पाएपछि प्रहरीले इटहरी ९ स्थित राधाकृष्ण मन्दिरबाट सोमबार दिउँसो विवाहको जग्गेबाटै बेहुला र बेहुली सहित ६ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा बेहुला २८ वर्षीय उपेश नेपाल, १८ वर्षीय बेहुली, पण्डित दिनेश कुमार भट्टराई, बेहुलाका बुवा ढुण्डिराज नेपाल र बेहुलीका बुवा दिनेशकुमार दाहाल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
बाल विवाह गर्ने र गराउने बुवाहरू र पण्डित सबैलाई अदालतबाट एक दिनको म्याद थप गरी बालविवाह कसुरमा आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरी प्रमुख उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए ।
प्रहरीका अनुसार दुवै परिवारबीच मागी विवाह भएको जनाइएको छ । केटा केटीबीच प्रेम सम्बन्ध रहेको र उनीहरू भाग्ने अवस्था सृजना भएपछि विवाह गराउन लागिएको आफन्तहरूले बताएका छन् । नेपालको प्रचलित कानुनअनुसार केटीको उमेर २० वर्ष पुगेपछि मात्रै विवाहका लागि योग्य मानिन्छ ।