काठमाडौं । समाजवादी मोर्चाले आगामी चैत १५ गते काठमाडौंमा वृहत प्रदर्शन गर्ने भएको छ ।
मंगलबार बसेको मोर्चाको बैठकले गणतन्त्रका विरुद्धमा गम्भीर षड्यन्त्र सुरु भएको निष्कर्ष निकाल्दै यसका विरुद्धमा आगामी चैत १५ गते काठमाडौंमा वृहत प्रदर्शन गर्ने निर्णय भएको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले जानकारी दिए ।
त्यस्तै, बैठकले राजतन्त्रका पक्षमा भइरहेका गतिविधिलाई आपत्तिजनक ठहर गर्दै सशक्त प्रतिवाद गर्न अपिल गरेको छ ।
पछिल्ला दिनमा भइरहेका गतिविधिबारे आजको बैठकमा गम्भीर छलफल भएको भन्दै प्रकाण्डले भने, ‘नेपाली जनताले तिरस्कार गरिसकेको राजतन्त्रलाई पुनः ल्याउनेगरी जस्तो हर्कत भइरहेको छ, यो आफैंमा भयंकर आपत्तिजनक कुरा छ । देशलाई प्रतिगमनतर्फ लाने जुन हर्कत भइरहेको छ, यो स्वीकार्य छैन ।’
२५ फागुनमा भएको राजावादीहरूको प्रदर्शनले आफूहरू डराएको नभइ सिरियस भएको समाजवादी मोर्चाका दलहरूको भनाइ छ । ‘आत्तिएको होइन । डराएको पनि होइन । तर, सिरियस भएको हो,’ उनले भने, ‘गणतन्त्रविरुद्धका तानाबाना बुन्दा हामीलाई चिन्ताभाव भएको हो । आक्रोश पनि छ । सशक्त प्रतिवाद गर्ने सोचाइ पनि छ ।’
उनले भने, ‘समाजवादी मोर्चाको निम्ति यो सैह्य छैन । नेपालका कम्युनिस्ट र वामपन्थीका लागि यो सैह्य छैन । प्रतिक्रान्तिकारी हर्कत भनेको देश र जनताको लागि दुर्दशाको हर्कत हो । यसलाई सशक्त रुपमा प्रतिवाद गर्नका लागि अपिल गर्नुपर्छ ।’