सिट बाँडफाँडलाई अन्तिम रूप दिन गठबन्धनका दलहरु बैठक सुरु

काठमाडौं। गठबन्धन दलहरु स्थानीय तह निर्वाचनको सिट बाँडफाँडलाई अन्तिम रूप दिन पुन बैठकमा जुटेका छन्। मंगलबार मध्यरातसम्म चलेको बैठकमा जनकपुर र नेपालगन्ज उपमहानगरपालिकाको विषय टुंगो लाग्न सकेको थिएन। नेपालगन्ज उपमहानगरमा जसपाले दाबी गरेपछि नेपाली कांग्रेसले जनकपुरमा दाबी गरेको थियो।

गठबन्धनले जनकपुर जसपालाई र नेपालगन्ज कांग्रेसलाई दिने गरी प्रारम्भिक खाका तयार पारेको थियो। तर, जसपाले नेपालगन्ज पाउनुपर्ने अडान राखेपछि कांग्रेसले जनकपुरमा दाबी गरेको थियो। कांग्रेस र जसपा आफ्नो अडानमा अडिग रहेपछि मंगलबार सहमतिको माइन्युट हुन सकेको थिएन।

मंगलबार सत्तागठबन्धनले ६ महानगर र नौ उपमहानगरका मेयर–उपमेयरको सिट बाँडफाँड टुंग्याएको थियो। बालुवाटारमा मध्याह्नदेखि जारी बैठकमा नेताहरू चरण–चरणमा छलफलमा जुटेका छन्। सुरुमा गठबन्धनका शीर्ष नेताहरूले छलफल गरेका थिए। शीर्ष नेताको छलफलपछि आ(आफ्नो पार्टीका नेताबीच छलफल भएको छ।

दलका नेताको बैठकपछि फेरि शीर्ष नेताबीच छलफल गरेर माइन्युट गर्ने गरी तयारी गरिएको एक नेताले बताए। मंगलबारको सहमतिअनुसार कांग्रेसले विराटनगर, ललितपुर र काठमाडौंमा मेयर तथा वीरगन्ज, भरतपुर र पोखरामा उपमेयर पाउनेछ। माओवादीले भरतपुरमा मेयर तथा ललितपुरमा उपमेयर लिनेछ। एकीकृत समाजवादीले पोखरामा मेयर र काठमाडौंमा उपमेयर लिने सहमति छ। जसपालाई वीरगन्जमा मेयर र विराटनगरमा उपमेयर परेको छ।

मंगलबार ११ उपमहानगरपालिकामा कांग्रेसले ६ तथा माओवादीले दुई र एकीकृत समाजवादी र जसपाले एक–एक मेयर लिने गरी सहमति भएको थियो। जसअनुसार कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर र धनगढीमा मेयर पाउने तय भएको थियो।

त्यस्तै, माओवादीले जितपुर–सिमरा र घोराही, एकीकृत समाजवादीले हेटौँडा र जसपाले जनकपुर पाउने थियो। तर, रातिको शीर्ष नेताहरूको बैठकमा जसपाले नेपालगन्ज पनि आफूले पाउनुपर्ने अडान राख्यो। जुन यसअघि कांग्रेसले राख्ने लगभग सहमति बनेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us