होली खेलेर शिक्षकको तलब खर्च जोहो

बैतडी । निजी स्रोतमा शिक्षक राखेर विद्यालय सञ्चालन गर्न असहज भएपछि बैतडीका धेरै जसो विद्यालयले होली खेलेर तलबका लागि खर्च जोहो गरिरहेका छन् । सुदूरपश्चिम र कर्णाली क्षेत्रमा फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म सात दिन होली खेल्ने चलन छ । होली र देउसीभैलो खेलेर हरेक वर्ष तीन/चार लाख रुपियाँ सङ्कलन गर्न सकेकाले निजी स्रोतका शिक्षकको तलब बेहोरिरहेको पाटन नगरपालिका–९, हुक्केडाँडास्थित सिद्धेश्वर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह भाटले बताउनुभयो ।

विद्यालयले धेरै वर्षदेखि होली खेलेर आर्थिक स्रोत सङ्कलन गर्दै आएका छन् । यो विद्यालयले आफ्नै स्रोतमा छात्रावास पनि सञ्चालन गरेको छ । निजी स्रोतका शिक्षक, छात्रावासलगायत शैक्षिक सामग्री व्यवस्थापनका लागि हरेक वर्ष होली खेलेर रकम सङ्कलन गर्दै आइरहेको व्यवस्थापन समितिका अध्यक्ष भाटले बताउनुभयो । पाटन नगरपालिका–१० स्थित सरस्वती मावि सल्लेबासाले होली खेलेर दुई लाखभन्दा बढी रुपियाँ सङ्कलन गरेको छ । होलीबाट सङ्कलित रकमले विद्यालयमा शैक्षिक सामग्री किन्ने गरेको प्रधानाध्यापक लोकराज भट्टले बताउनुभयो ।

बैतडीको सिद्धेश्वर मावि मेल्चौरा, जनता मावि आरुबाटा, सिगास मावि गुरुडा, केदार मावि कठमडा, जगन्नाथ बहुमुखी क्याम्पस गोठालापानी, पाटन बहुमुखी क्याम्पस पाटनलगायतका विभिन्न शैक्षिक संस्थाान धुमधामसाथ होली खेलिएको पाटन नगरपालिका–८ का हरिदत्त भट्टले बताउनुभयो । गोरखापत्र अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us