सातै प्रदेशमा सकियो एकमहिने ‘प्रादेशिक ललितकला प्रदर्शनी’

काठमाडौँ । प्रादेशिक कला प्रदर्शनी सातै प्रदेशमा सम्पन्न भएको छ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा गएको फागुन ४ गते गण्डकी प्रदेशबाट शुरु भएको प्रादेशिक ललितकला प्रदर्शनी आज काठमाडौँमा समापन गरिएको हो।

महिनाव्यापी रूपमा आयोजना भएको प्रदर्शनीको अन्तिम कार्यक्रम बागमती प्रादेशिक ललितकला प्रदर्शनी हो।

गएको फागुन २६ गते काठमाडौँमा शुरु भएको प्रदर्शनी आज समापन भएसँगै सबै प्रदेशमा प्रदर्शनी सम्पन्न भएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले जानकारी दिए।

उनले भने, “यसपालिको प्रादेशिक ललितकला प्रदर्शनी भव्य र सभ्य रूपमा सम्पन्न भयो।”

प्रदेशहरूमा भएका प्रदर्शनीमा चित्रकला‚ मूर्तिकला‚ बहुआयामिक कला‚ कार्टुन‚ फोटोग्राफी र सिर्जनात्मक कलालगायतका विभिन्न कला विधाका १ हजार २ सयभन्दा बढी कलाकृति प्रदर्शन गरिएका थियो।

प्रदर्शनीले देशभरि नै कलाको महत्त्व बढाएको र मौलिक तथा लुकेका कलासमेत उजागर भएको प्रतिष्ठानका उपकुलपति तथा बागमती प्रदेश समन्वय समितिका संयोजक लालकाजी लामाले बताए।

गत वर्षदेखि नेपालमा प्रादेशिक रूपमा कला प्रदर्शनी थालिएको हो। गत वर्षभन्दा यसपालि कला सृजना र कलाकारको सहभागिता उल्लेख्य रूपमा बढेको छ।

स्थानीय पालिका प्रदेश सरकार र विभिन्न सङ्घसंस्थाको सहकार्यमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको कला प्रदर्शनी समन्वय र सहकार्य उल्लेख्य बढ्न थालेको पाइएको प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले थुम्केलीले बताए।

“यसले देशभर नै कला गतिविधि बढाउँछ भन्ने हाम्रो विश्वास छ”, उनले भने।

प्रादेशिक प्रदर्शनीमा समावेश उत्कृष्ट चित्रहरूलाई आउँदो गणतन्त्र दिवसका अवसरमा जेठ १५ गते हुने राष्ट्रिय ललितकला प्रदर्शनीमा समावेश गरिने र सोही क्रममा प्रादेशिक तथा राष्ट्रिय पुरस्कार प्रदान गरिने प्रतिष्ठानले जनाएको छ।

यसपालि राष्ट्रिय प्रदर्शनीमा १ लाख रुपैयाँ राशिको सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार, जनही ६० हजार रुपैयाँ राशिको ललितकला विधागत पुरस्कार र नवप्रतिभा ललितकला राष्ट्रिय पुरस्कार प्रदान गरिनेछ।

ललितकला विधागत पुरस्कारतर्फ परम्परागत चित्रकला, समसामयिक/आधुनिक चित्रकला, परम्परागत मूर्तिकला, समसामयिक/आधुनिक मूर्तिकला, शिल्प र हस्तकला, वास्तुकला तथा लोककला बहुआयामिक कला तथा अन्य सृजनात्मक कलामा कलाकारलाई पुरस्कृत गरिनेछ।

प्रदेशगत रूपमा ५० हजार रुपैयाँ राशिको सबै प्रदेशबाट एकजना उत्कृष्ट प्रादेशिक ललितकला पुरस्कारका साथै ३० हजार रुपैयाँ राशिको परम्परागत चित्रकला, समसामयिक चित्रकला, परम्परागत मूर्तिकला, समसामयिक/आधुनिक मूर्तिकला, शिल्पकला, वास्तुकला तथा लोककला, बहुआयामिक कला तथा अन्य सृजनात्मक कला र नवप्रतिभा ललितकला प्रादेशिक पुरस्कार पनि प्रदान गरिने प्रतिष्ठानले जनाएको छ।

प्रदेशहरुमा यस्तो रहे कला प्रदर्शनी

यसपालि प्रादेशिक प्रदर्शनी उत्साहप्रद रहेको सम्बन्धित प्रदेशका संयोजकहरूले बताए। ती प्रदेशमा भएका प्रदर्शनी झण्डै ६० हजारले अवलोकन गरेका छन्।

यसपालि बागमती प्रदेशमा नै २०९ जना कलाकारका २४१ कलाकृति प्रदर्शनीमा राखिएको थियो। आज सकिएको बागमती प्रदेश कला प्रदर्शनी ८ हजारभन्दा बढीले अवलोकन गरेको अनुमान छ।

गत फागुन ४ गते प्रादेशिक कला प्रदर्शनी शुरु भएको थियो। फागुनको ४ देखि ८ गतेसम्म पोखरामा भएको गण्डकी प्रादेशिक प्रदर्शनीमा ८ हजारभन्दा बढीले अवलोकन गरेको प्रतिष्ठानको गण्डकी प्रदेश समन्वय समितिकी संयोजक सौरगङ्गा दर्शनधारीले जानकारी दिए। त्यहाँ सबै विधाका गरी ९० वटा कलाकृति प्रदर्शनीमा राखिएको थियो।

फागुन ६ देखि १० गतेसम्म कर्णाली प्रादेशिक ललितकला प्रदर्शनी भएको थियो। त्यहाँ ६५ जना कलाकारका ७० वटा कला प्रदर्शनीमा राखिएको थियो।

सो प्रदर्शनीमा ७ हजार हाराहारीले अवलोकन गरेको प्रतिष्ठानको कर्णाली प्रदेश समन्वय समितिका संयोजक पाल्साङ्मो लामाले जानकारी दिए। कर्णालीमा राउटेका कला प्रदर्शनी र कार्यशालासमेत आयोजना भएको थियो।

उता सुदूरपश्चिम प्रदेशमा फागुन ८ देखि १२ गतेसम्म भएको प्रदर्शनीमा १० हजारले अवलोकन गरेको प्रतिष्ठानको सुदूरपश्चिम प्रदेश समन्वय समितिका संयोजक प्रदीप अधिकारीले बताए। उनका अनुसार उक्त प्रदर्शनीमा १२० जना कलाकारका २ सय कलाकृति प्रदर्शनीमा राखिएको थियो।

फागुन १० देखि १४ गतेसम्म आयोजना गरिएको लुम्बिनी प्रादेशिक कला प्रदर्शनीमा १२३ कलाकारका १८० कलाकृति प्रदर्शनी भएको थियो।

उक्त प्रदर्शनी ८ हजारभन्दा बढीले अवलोकन गरेको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान लुम्बिनी प्रदेश समन्वय समितिका संयोजक दिनेश्वर महतोले बताए।

कोशी प्रदेशमा फागुन १६ देखि २० गतेसम्म आयोजना गरिएको प्रादेशिक कला प्रदर्शनीमा १९७ कलाकारका २३० कलाकृति प्रदर्शन भएको थियो।

उक्त प्रदर्शनीको १० हजारले अवलोकन गरेको अनुमान गरिएको प्रतिष्ठानको कोशी प्रदेश समन्वय समितिका संयोजक सञ्जय वान्तवाले जानकारी दिए।

त्यसपछि मधेश प्रदेशस्तरीय ललितकला प्रदर्शनी यही फागुन २० देखि २४ गतेसम्म भएको थियो। उक्त प्रदर्शनीमा १५५ कलाकारका २०५ वटा कलाकृति समावेश थिए।

उक्त प्रदर्शनी ७ हजारभन्दा बढीले अवलोकन गरेका प्रतिष्ठानको मधेश प्रदेश समन्वय समितिकी संयोजक अरुणा हिङमाङले जानकारी दिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us