काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा गत शुक्रबारदेखि जारी २६औँ पुष्प मेला (फ्लोरा एक्स्पो) सोमबार सम्पन्न भएको छ ।
४ दिनसम्म चलेको मेलामा १ करोड १० लाख ७० हजार रुपैयाँभन्दा बढीको कारोबार भएको आयोजक फ्लोरिकल्चर एशोसिएशन नेपालले जनाएको छ ।
पुष्प मेला ५९ हजार बढीले अवलोकन गरेको एशोसिएशनका बरिष्ठ उपाध्यक्ष तथा मेला संयोजक रामबहादुर तामाङले जानकारी दिए।
हाल नेपालका ५२ जिल्लामा व्यावसायिक पुष्प खेती भइरहेको एशोसिएशनले जनाएको छ । जसमा १ हजार १ सय बढी पुष्प व्यवसायी संलग्न छन् ।
यस क्षेत्रमा करिब ८ अर्ब ८३ करोड रुपैयाँ हाराहारीको लगानी भइसकेको र प्रत्यक्ष तथा अप्रत्यक्ष गरी ५१ हजार ५ सय जनशक्तिले रोजगार प्राप्त गरेको जनाएको छ।
नेपालमा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक कारोबार ३ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी रहेको एशोसिएशनले जनाएको छ ।