काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस विहीवार नेपाल आउँदैछन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा उहाँले वैशाख ८ देखि १० गतेसम्म नेपालको भ्रमण गर्न लाग्नुभएको हो ।
महानिर्देशकका साथ भ्रमण दलमा डब्ल्युएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल र डब्ल्युएचओका अन्य अधिकारीहरू रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग डा टेड्रोसले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
यस्तै उहाँले परराष्ट्रमन्त्री डा नारायण खड्का र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडासँग पनि भेट गर्नुहुनेछ ।