धर्मको गरिमा धारणमा कि कारणमा ?


सीता ओझा
धर्म भन्नाले दैवीकशक्ति , परआत्मा, परमेश्वर,प्रकृति अथवा अदृश्य शक्तिप्रती मानिसले गर्ने विश्वास र त्यस्ता शक्तिहरूसँग सम्बन्धित नैतिक आचरण, व्यवहार, मूल्य मान्यताको धारण गर्नु हो। यस्ता मूल्य,मान्यता पालना गर्न,गराउन घर,परिवार,समाज,धार्मिक संस्था,धर्म गुरु तथा अन्य संघ,संस्थाहरुले पुरातन विधिहरूलाई वैज्ञानिक ढङ्गले अनुसरण गराउन पर्ने,त्यसो नगरी अझै अन्ध भएर लागू गराउन खोज्दा धर्म धारण गर्ने मानिस अवैज्ञानिक र पछौटे हुन जान्छ। यस्ता कुराले कहिलेकाहिं आस्था अथवा विश्वास जस्ता शव्द पनि धर्मको नाममा अन्ध अर्थमा प्रयोग गरिन्छ। धर्मको धारण गर्ने कुरालाई समयले विकास गरेका प्रविधि र आवश्यकतासँग जोडेर धर्म बुझ्न खोज्यो भने धारण गर्ने तौरतरिका पनि सहि हुनजान्छन् ।नत्र प्रयोगकर्ता तथा व्याख्या गर्ने व्यक्तिले लिखित दस्तावेजलाई नै आफू अनुकुल परिभाषित गर्न थाल्छ र सामाजिक अन्धविश्वासहरू बढ्छन् ।
धर्मसँग जोडिएको दर्शनले इश्वरलाई ब्रम्हाण्ड र मानवको सम्बन्धबारे सम्पूर्ण जवाफको सार मान्ने गर्दछन्। धर्म भनेको जिव वा मानवको स्वभाविक गुणभित्रको विशिष्टता हो। धर्मको विषयमा सम्पुर्ण मानवहरूको गुण एकै प्रकृतिको देखिन्छ ।
मानव सँस्कृतिको विकाशसँगै धर्मको रुप अर्थ,समाज र ब्यक्ति अनुसार फरक फरक भएको पाइन्छधर्म मानवीय संस्कृति या दर्शनको परिकल्पनाको प्रमुख संकल्पना हो।
हरेक धर्मले मानिसलाई धर्मसँग मानिसको कर्म जोडिदिएर कर्मसगँ समर्पित हुन सिकाउनु पर्दछ।
धर्मले परिभाषित गरेको कर्मसँग तुलना गरेर हेर्दा धर्मको परिभाषाले कर्मको निष्फल समर्पण नै हो । तर व्यवहारमा त्यस्तो भेटिन्न ।
धर्मलाई व्यक्तिको दायित्व परिवारपछि सामाजिक माध्यमबाट आर्थिक र सांस्कृतिकसँग जोडेर सदाचार कायम राख्न सहयोगी साधन बनाएको कानुन भन्दा फरक पर्दैन तर धर्मावलम्बीले यस्तो सरल व्याख्या र ब्यवहारको परिभाषाभित्र राख्दैनन् । राखेको देखाउन पनि मान्दैनन् ।यस्तो बेला धर्म धारण गर्नेहरूलाई विचरा भन्न मन लाग्छ ।
संसारमा भएका सबै धर्मले मानिसलाई कर्तव्य,अहिंसा,न्याय,सदाचरण, सद्गुगुणआदिमा दत्तचित्त भएर सेवामा लिन हुन सिकाएको छ ।धर्मको समर्पणसँग जोडिएको अनुराग,अनुभव र कर्मसगँ जोडिएको समर्पण मात्रै धर्म हो ।तर मानिसले थाहा नै नपाई मानिसको विश्वासलाई विस्तारै अदृश्य शक्तिको केन्द्रतिर केन्द्रीकृत गरेको देखिन्छ । यो तरीकाले जीवन त धर्मको धारणले चल्ला तर जीवन र जगत चै चल्दैन र विभिन्न समुहभित्र द्वन्द सृजना हुन्छ । यस्तो हुने स्थिति बन्नु धर्मको धार्मिक परिभाषा विरुद्ध अथवा पाप गर्नु या हुनु भन्ने अर्थ लाग्छ ।
धर्मसँग जोडिएको कर्मलाई मानवीय विकासले विस्तारै मानिसको प्राकृतिक अनुभुति मानिसको व्यवहारिक पक्षको अनुभुतीसँग जोड्न थाल्यो । व्यवहारका दुखसुखले प्राकृतिक अनुभुतीलाई अदृश्यतातिर डोर्यायो र दैवीशक्ति, परमात्मा या अदृश्य शक्तिको रूपमा विश्वास गर्ने/ अवस्था बन्यो ।विश्वमा धर्मको बारेमा भएका खोज/ अनुसन्धानले धर्मको अर्थलाई कर्म /कामको समर्पणसँग जोडिदिएको छ ।
धर्मसँग जोडिएको मानविय सम्बन्धको चर्चाले मानिससँग सम्बन्धित बानीबेहोरा,मूल्य मान्यता तथा पुरातन विधि र विश्वास जस्ता कुराहरूलाई जोडिदिएको भेटिन्छ ।
त्यसैले धर्म मानव जीवनको कर्मसँग जोडिएको अदृश्य र अस्वाभाविक मानविय गुण हो । यो अदृश्य रूपमा मानव मस्तिष्कमा नशाको तृष्णा जस्तो बसेको छ। २१ औं शताब्दीका मानिसले धर्मको सकारात्मक पक्षको चेतको विश्लेषण गर्न र धारण गर्ने गराउने विषय र धर्मको परिभाषाको बारेमा फरक अध्ययन र चिन्तन गर्न आवश्यक देखिन्छ,भन्ने अनुभुति गर्न अति आवश्यक छ।
स्थान,जात,प्रभाव र संस्कार अनुसार धर्मका कर्महरू पनि फरकफरक रहेको देखिन्छ । मानिसको त्यहि फरकपनलाई हामीले धर्म मान्ने गरेका छौ ।त्यो चाहिँ धर्म पहिचानको विशेषता मात्रै हो,धर्म हुँदै होइन ।
हिजोका मानिस शिकारले जीविका गर्दै सामाजिकीकरणतिर लागे। शिकारपछि मानिस कृषिसगँ जोडियो।कृषिसँग जोडिने अवस्था बन्दासम्म राज्य र निजी स्वामित्वको विकास भइसकेको थियोे ।
हरेक धर्मसँग जोडिएका मानिसका हरेक वस्तु र चिन्तनको सम्बन्ध कृषिसँग जोडिएको छ। यसरी जोडिनु भनेको जीविकोपार्जन हो।जीविकोपार्जनले जीवनलाई सहज बनाउँछ र मानिस स्वच्छ भएर बाँच्नसक्छ । मानिसलेअनुमान गरेको पूरा आयु बाँच्न स्वास्थ जीवन र स्वस्थ्य खानपिन चाहिन्छ । यी आवश्यकताभित्रका परिपुरक आवश्यकता अरुपनि छन् । सनातनीहरूले अदृश्य तर नभइनहुने अन्य आवश्यकताका विषयलाई खुला बहस गर्न चाहाँदैनन ।
अहिलको सामाजिक जीवनसँग जोडिएका धर्मका विषयहरू समस्या बन्दैछन। मानिस स्वार्थ केन्द्रीकृत भएर नाता,सम्बन्धभित्रका जन्मदिने मातापिता विर्सने,नखोज्ने अवस्था पुगिसक्यो ।यस्तो बेला मन्दिर,मस्जिद,चर्च,गुम्बा,मातापिता भेटेको बेला तस्बिर खिच्ने र सामाजिक सञ्जालमा पस्कने,रमाइलो बनाएर पर्यटकिय क्षेत्र बनाउने अनि व्यापार व्यवसाय बढाउने मात्रै हो कि जस्तो पनि देखिन थाल्यो । यस्तो बेला,समाज र राज्यले मानिसको मानविय धर्म र मानविय कर्मसँग जोडिएको सम-भावनाले समाजलाई जोगाउनु पर्ने तर ठिक उल्टो भएको अवस्था छ।
राज्यले बुझ्ने धर्म दलको स्वार्थमा जोडियो। नागरिकले बुझ्ने धर्म स्वछन्द र अन्धभावको भक्त बन्ने र अराजकता सृजना गर्ने दिशामा गइरहेको बेला सनातनीहरूले धर्मलाई स्वार्थ र स्वच्छताको निशाना बनाउने होइन । समयको माग अनुसारको व्याख्या,मर्मको पहिचान गर्न वातावरण बनाउनुपर्छ जस्तो लाग्छ ।यस्तो सोच किन विकास भइरहेको छैन ?
मन्दिरमा भएको मुर्ति र मन्दिरको आकृति कल्पना शक्तिको कला र सांस्कृतिक सम्पन्नता मात्रै हो ।
धर्म प्रत्येक मानिसको कर्मको समर्पण भावसँग जोडिएको विषय हो । मानिसले यसरी बुझ्न नसक्दा हरेक क्षेत्रको काम र सेवा प्रभावित भयो। धर्मको नामको भक्ति र मन्दिर धाउने फेसन र भाकल कर्ममा विफल हुनेको भाक्किने स्थल बन्यो।
कुनै पनि धर्मले काम चोर हुनु,सेवामा सेवाग्राहीलाई दुख दिनुु,अर्काको मन दुखाउनु,कर्तव्यबाट चुक्नु,मातापिता, मान्यजनलाई दुखदिनु,अनादर गर्नु,समाजमा अराजकता फैलाउनु,हडप्नु,भ्रष्टाआचरणमा फस्ने जस्ता कुकामलाई धर्म होइन पाप भनेको छ ।
आधुनिक समाजले धर्मलाई अझै परिस्कृत र वैज्ञानिक बनाउनु पर्ने थियोे तर वर्तमान समाजमा धर्मको मर्म नै हराउने अवस्था बन्यो । अहिले धर्म मानिसको मोबाइल र फेसनमा जोडिएर र अन्ध परम्परामा विश्वास गर्ने नशा जस्तो भएको देखिन्छ । यस्तो हुनु धर्मको व्याख्या र बुझाइमा भएको समस्या हो कि धर्मको धारण गर्ने प्रकृयाको त्रुटि हो । धार्मिकक्षेत्रका विज्ञहरुले विश्लेषण गर्नुपर्ने अवस्था आएको छ। धर्मको धारणलाई राज्य र सत्ता प्राप्तिको खेल बनाउन थाल्यो भने न धर्मले सहि मार्ग पहिल्याउन सक्छ न राजनीतिले जनताका मुद्दा पहिचान गर्न सक्छ ! 
 

One thought on “धर्मको गरिमा धारणमा कि कारणमा ?

  1. लेख पठनीय छ,तर यसले धर्मको उत्पत्ति कसरी भयो,यसले समाजलाई कसरी सीमाभित्र राख्यो, विस्तारै यो एक अन्धविश्वासको पर्याय पनि बनाइयो,तर धर्मका सबै अनुयायीहरू सबै एकै प्रकृतिका हुँदैनन्,यी विषयमा पनि ध्यान दिँदा हुन्थ्यो कि,तर सबै विषय एउटै लेखमा अटाउन पनि सक्दैन।लेखकको संकेत प्रगतिशील छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us