काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट शुरू हुँदै छ । आजबाट १९ गतेसम्म सञ्चालन हुने एसइई परीक्षामा ११ हजार २ सय १६ विद्यालयबाट ५ लाख १४ हजार ७१ जनाले परीक्षा दिँदैछन् ।
गत वर्ष ४ लाख ६४ हजार ७ सय ८५ परीक्षार्थी सहभागी भएकोमा यस वर्ष परीक्षार्थीको संख्यामा ४९ हजार २ सय ८६ ले वृद्धि भएको हो । त्यसमा प्राविधिक धारतर्फका १६ हजार ९ सय ४७ विद्यार्थी छन् ।
सबैभन्दा बढी काठमाडौंमा ३९ हजार ६ सय र कम मनाङमा ४३ जना परीक्षार्थीले परीक्षा दिँदैछन् । तथ्याङ्कअनुसार परीक्षामा २ लाख ५७ हजार ७ सय ३० छात्रा र २ लाख ५६ हजार ७ सय ११ छात्र सहभागी हुनेछन् । परीक्षामा देशभर २ हजार ७९ र जापानमा १ गरी ८० परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
त्यसै गरी बालसुधार केन्द्र र कारागार गरी तीनवटा विद्यालय बाहिरका केन्द्र निर्धारण गरिएको छ । काठमाडौं र दैलेखका दुई कारागार र भक्तपुरको बाल सुधारगृहबाट परीक्षा दिने व्यवस्था गरिएको हो । जापानको एभरेस्ट स्कुलमा पनि एउटा केन्द्र कायम गरेको छ । सो केन्द्रमा २९ जना परीक्षार्थी छन् । यो वर्ष कीर्तिपुरस्थित सफलता एचआईभी शिक्षा सदनका ४ जनाले परीक्षा दिनेछन् ।
परीक्षामा १ सय ५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एकजना सहायक केन्द्राध्यक्षको व्यवस्था गरिएको छ भने २० जना विद्यार्थी बराबर एकजना निरीक्षक खटिने भएका छन् । परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिने जनाइएको छ । परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक निरीक्षक र कार्यालय सहयोगी र सुरक्षाकर्मीसहित ७७ हजार ८ सय १६ कर्मचारी खटिनेछन् भने ३० हजार सुरक्षाकर्मी परिचालित छन् ।
परीक्षा नियन्त्रण कार्यालयले असार ७ मा परीक्षाफल प्रकाशित गर्ने गरी कार्यतालिका बनाएको जनाएको छ ।