बर्दियामा कृष्णसारको संख्या उल्लेखनीय रुपमा बढ्न सकेन

काठमाडौं। बर्दियाको सदरमुकाम गुलरिया नगरपालिका—२ खैरापुरमा कृष्णसारको उल्लेखनीय रुपमा बढ्न सकेको छैन । भुस्याहा कुकुर र हुँडारबाट बचाउन नसक्दा यसको संख्या बढ्न नसकेको हो ।

वैशाख १ देखि ७ गतेसम्म वन्यजन्तु सप्ताह मनाउने क्रममा कृष्णसारको संख्या गणना गर्दा १ सय ९० पुगेको छ । यहाँ आयोजित कार्यक्रममा संरक्षण अधिकृत विनय झाले कृष्णसार गणनाको सार्वजनिक गर्दै उक्त कुरा बताउनु भएको हो। गणनाका क्रममा भाले ४०,पोथी १ सय १४ र बच्चा ३६ वटा रहेको वहाँले जनाउनु भयो ।

गत फागुनयता २१ वटा कृष्णसारका बच्चा प्राकृतिक र भुस्याहा कुकुरको टोकाइले मारिएका छन् । बढी जसो हुँडार र भुस्याहा कुकुरले मारेको छ । बर्दियाको सदरमुकाम गुलरिया नगरपालिका—२ खैरापुरस्थित कृष्णसार संरक्षण क्षेत्रमा यी वन्यजन्तु फैलिएर रहेका छन् । २ जना रेन्जर, प्राविधिक टोली र गेम स्काउट कृष्णसारको गणनामा खटिएका थिए । ०७१ साल असारसम्म यसको संख्या ३ सय पुगेको थियो । तर बाढीले ४० वटा कृष्णसार बगाएको थियो । ०७४ सालमा १९ वटा कृष्णसार बाढीले बगायो ।

संरक्षण क्षेत्रमा चितुवा, हुँडार, स्यालको आक्रमणमा मारिन थालेपछि उच्च सुरक्षा अपनाएपनि रोकिएको छैन । एक वर्षयता ८५ वटा कृष्णसार मारिएका छन् । तीमध्ये चितुवाबाट ६५ वटा कृष्णसारलाई आक्रमण गरी मारेको थियो । सोही अवधिमा स्याल, हुँडार र कालगतिबाट २० वटा मारिएका छन् । सामान्यतया वर्षमा २ वटा बच्चा जन्माउने यो वन्यजन्तु वासस्थान अतिक्रमणसँगै हुँडार र भुस्याहा कुकुरको आक्रमणको सिकार बन्दै गएको छ । चितुवा र हुँडारबाट बचाउन सके एक वर्षमा कृष्णसारको संख्या तीन सय बढी पुग्ने अनुमान संरक्षणकर्मीको छ ।

संरक्षण क्षेत्रको भौतिक पूर्वाधार विकास, स्याहार सम्भार र उचित बास नभएकोले यो वन्यजन्तु संकटमा परेको छ । ७ सय ८ विघा क्षेत्रफल रहेको संरक्षित क्षेत्रमा ३ सय ५० विघा बढी जग्गा भूमिहिनका नाममा घर जग्गा भएकाले अतिक्रमण गरेको कृष्णसार संरक्षण समितिका अध्यक्ष दिपेन्द्र यादवले जनाउनु भयो । सरकारले मुआब्जा दिएका मानिस लामो समय देखि यहाँ बस्दै आएको अध्यक्ष यादवले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us