काठमाडौं । समाजवादी मोर्चाले शुक्रबार काठमाडौंमा गर्ने प्रदर्शनमा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल सहभागी नहुने भएका छन्।
यद्यपि कार्यक्रममा भने आफ्नो समर्थन रहेको र घरमै बसेर हेर्ने मनस्थितिमा रहेको उनले बताए।
खनालले प्रतिगमन र यथास्थितिवादीविरूद्ध भएको प्रदर्शनमा समर्थन रहेको तर, जुलुस र सभामा उपस्थित हुन नसक्ने प्रतिकृया दिएका छन् । अन्तिम अवस्थामा वक्ताको सुचिमा नाम नभएपछि खनालले सभालाई नैतिक समर्थन भएपनि भौतिक उपस्थित नरहने निर्णय गरेका हुन् । सभालाई चार पार्टीका अध्यक्षहरूले सम्बोधन गर्ने तयारी भएको छ ।
सभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्दले बोल्ने कार्यसूची छ।
बेथिति एवम् भ्रष्टाचारविरूद्ध गणतन्त्रका पक्षमा समाजवादी मोर्चाले काठमाडौंको भृकुटीमण्डप क्षेत्रमा सभा गर्दैछ।
त्यसअघि मोर्चाघटक दलहरूले विभिन्न ठाउँबाट जुलुसको नेतृत्व गर्नेछन्। जुलुसको अगुवाइ गर्न चार वटा पार्टीलाई विभिन्न ठाउँ निर्धारण गरिएको छ। एकीकृत समाजवादीको जुलुस मैतीदेवी र शान्तिवाटिकाबाट निस्किसकेको छ ।