तीनकुने प्रकरणमा पक्राउ पर्ने १११ जना पुगे, २१ जनाको अस्पतालमा उपचार जारी

काठमाडौं । काठमाडौंको तीनकुनेमा शुक्रबार पूर्वराजाको समर्थनहरूद्वारा गरिएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म १११ जनालाई पक्राउ गरेको छ ।

पूर्वराजाको समर्थनमा भएको प्रदर्शनका क्रममा आक्रमण, तोडफोड, आगजनी र लुटपाटमा संलग्न रहेका र घटना घटाउन उक्साउनेसहित १११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।

उनका अनुसार शुक्रबार १०५ जनालाई पक्राउ गरिएको थियो भने आज थप ६ जना पक्राउ परेका हुन् । प्रहरी परिसर काठमाडौँले २५, प्रहरी वृत्त बानेश्वरले २५, प्रहरी वृत्त गौशालाले ९, प्रहरी प्रभाग कोटेश्वरले ४६, प्रभाग गोङ्गबुले ३, प्रहरी वृत्त बालाजुले १, प्रहरी वृत्त सिंहदरबारले २ जनालाई पक्राउ गरेको उनले जानकारी दिए ।

उक्त घटनामा २ जनाको मृत्यु भएको जनाउँदै प्रहरी प्रवक्ता बोहराले नेपाल प्रहरीतर्फ ५५, सशस्त्र प्रहरीतर्फ २२ र प्रर्दशनकारीतर्फ ५१ जना घाइते भएका उल्लेख गरे । तीमध्ये प्रहरी र प्रदर्शनकारीसहित २१ जनाको विभिन्न अस्पतालमा उपचार जारी रहेको काठमाडौं प्रहरीले जनाएको छ ।

तोडफोड, आगजनी र लुटपाट

प्रवक्ता बोहराका अनुसार व्यक्तिगत र सरकारी कार्यालय गरी १८ वटामा तोडफोड भएको छ । विभिन्न १२ ठाउँमा आगजनी तथा १ ठाउँमा तोडफोड तथा लुटपाट भएको छ ।

‘प्रहरीतर्फ छ, सरकारी कार्यालयको चार, विवरण नखुलेको छ गाडी तथा विवरण नखुलेको स्कुटर र मोटरसाइकलसहित छ वटामा तोडफोड भएको छ । केही गाडी जलाइएको छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us