सन्तोष दहित
दाङ । दाङको दंगीशरण –३ स्थित माया खोलाको ढिकमा किसानहरुले रोपेको खुर्सानी लटरम्म फलेको छ । दंगीशरण वडा नम्बर ३ हेकुलीकी सुरमानी चौधरीले माया खोलाको ढिकमा रहेको ऐलानी जग्गामा लटरम्म खुर्सानी फलाउनुभएको हो ।
वर्षातको समयमा उक्त जग्गा खोलाले डुबान गर्ने भएकाले हिउँदको समयमा खुर्सानी रोप्ने गरेको उहाँले बताउनुभयो । उहाँले करिब दुई कठ्ठामा खुर्सानीसहित बोडी, भेन्दी, करेला र प्याज खेती गर्नुभएको छ । खुर्सानी बेचेर घरखर्च चलाउँदैआएको उहाँले बताउनुभयो ।
यस्तै, सोही ठाउँमा छिमेकी शोभाकर चौधरी, खुशीराम चौधरी, सुल्फी चौधरीलगायतले लटरम्म खुर्सानी फलाउनुभएको छ । माया खोलामा बाह्रै महिना पानीको सिँचाइ हुने भएकाले स्थानीहरुको खोलाको छेउछाउमा सयौं किसानले तरकारी खेतीबाट लाभ लिनुभएको छ ।
माया खोलामा हिउँदमा बाँध बाँधेर किसानहरूले तरकारी खेतीबाट आफ्नो जीविकोपार्जन गर्दैआएको दंगीशारण गाउँपालिकाका निवर्तमान अध्य्यक्ष भागीराम चौधरीले बताउनुभयो । गोरखापत्र अनलाईन