काठमाडाैं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर ७५३ स्थानीय तहमा निर्वाचन कार्यालय खोलेको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर आयोगले बिहीवार देशभरका ७५३ वटै स्थानीय तहमा निर्वाचन कार्यालय खोलेको हो ।
निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले सबै स्थानीय तहमा निर्वाचन कार्यालय खोलिएसँगै देश निर्वाचनमा होमिएको बताउनुभयो । आयुक्त भण्डारीले निर्वाचनको सम्बन्धमा कुनै प्रकारको सुरक्षा चुनौती नभएको बताउनुभयो । सरकारको सुरक्षा निकायले निर्वाचन सफल पार्नका लागि पूर्ण रुपमा सुरक्षाको प्रत्याभुति गराउने उहाँले विश्वास व्यक्त गर्नुभयो । निर्वाचन सामग्रीहरु सबै स्थानीय तहहरुमा समयमै पुर्याउने उहाँले बताउनुभयो ।
यससँगै अब निर्वाचनको सम्बन्धमा किन्तु, परन्तु नहुने उहाँले स्पष्ट पार्नुभयो । सबै निर्वाचन कार्यालयहरुले आयोगले दिएको कार्यतालिका अनुसार काम शुरु गर्ने पनि उहाँले बताउनुभयो ।
आयुक्त भण्डारीले निर्वाचन आयोगले निर्वाचनका लागि गर्नुपर्ने व्यवस्थापनका सम्पूर्ण कामहरु पूरा गरिसकेको उल्लेख गर्नुभयो ।