सर्लाहीका उखु किसानले पाए सबै भुक्तानी

सर्लाही । सर्लाहीको हरिवनस्थित इन्दुशङ्कर चिनी उद्योगले यस वर्ष किसानबाट खरिद गरेको सम्पूर्ण उखुको भुक्तानी दिएको छ । क्रसिङ सिजन २०८१/८२ को उखु क्रसिङ सकेर बन्द भएको तीन हप्ताभित्रै उद्योगले किसानलाई सम्पूर्ण भुक्तानी दिएर सकेको हो । फागुन २९ गते बन्द भएको उद्योगले यो वर्ष ३० लाख ५२ हजार ७९२ क्विन्टल उखु क्रसिङ गरेको थियो ।

उद्योगले किसानलाई सरकारले निर्धारण गरेको मूल्य अनुसार प्रतिक्विन्टल ५८५ रुपियाँका दरले एक अर्ब ७६ करोड रुपियाँ भुक्तानी दिएको उद्योगका प्रशासकीय प्रबन्धक ठाकुरप्रसाद नेपालले जानकारी दिनुभयो । उखु क्रसिङ सकेर उद्योगले तयार पारेको चिनी बिक्री नभए पनि किसानको सम्पूर्ण भक्तानी चुक्ता गरिसकिएको उहाँले बताउनुभयो ।

बजारमा अहिले पर्याप्त मात्रामा चिनी रहेकाले उद्योगले उत्पादन गरेको चिनी मौज्दात गरेर राखिएको प्रशासकीय प्रबन्धक नेपालले बताउनुभएको छ । उखु किसानको भुक्तानीमा आलटाल गर्ने जिल्लाका महालक्ष्मी चिनी उद्योग बगदह र अन्नपूर्ण चिनी उद्योग धनकौलले समेत यो वर्ष किसानलाई बेलैमा भुक्तानी दिएका छन् ।

१३ लाख ८० हजार १०४ क्विन्टल उखु क्रसिङ गरेर फागुन २१ बाट बन्द भएको महालक्ष्मी चिनी उद्योगले किसानलाई ८५ प्रतिशत भुक्तानी दिइसकेको दाबी गरेको छ । महालक्ष्मीका प्रशासकीय प्रबन्धक शिवशङ्कर महतोले उखु किसानको बाँकी रहेको करिब पाँच करोड रुपियाँ वैशाख दोस्रो सातासम्म भुक्तानी गरिसक्ने बताउनुभएको छ ।

उद्योगका मालिक वीरेन्द्रप्रसाद कनौडिया शनिबार उद्योगमा आएर अगुवा उखु किसानसँग छलफल गरी बाँकी रहेको भुक्तानी तत्कालै गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको नेपाल उखु उत्पादक महासङ्घको गोडैता नगर समितिका अध्यक्ष एवं गोडैता नगरपालिकाका प्रमुख देवेन्द्रकुमार यादवले बताउनुभयो ।

नौ लाख २१ हजार क्विन्टल उखु क्रसिङ गरेर फागुन २४ बाट बन्द भएको अन्नपूर्ण चिनी उद्योगले करिब ८० लाख रुपियाँ भुक्तानी गर्न बाँकी रहेको जनाएको छ । उद्योगका सञ्चालक शैलेन्द्र गुप्ताले सकेसम्म यही महिनाभित्रै बाँकी भुक्तानी सक्ने तयारी रहेको बताउनुभयो ।

धनकौलका उखु किसान रामकल्याण यादवले यो वर्ष अन्नपूर्णलाई बेचेको उखुको पैसा पाए पनि यसअघि अर्कै मालिक रहँदा क्रसिङ सिजन २०७४/७५ मा बिक्री गरेको उखुको भुक्तानी अझै नपाएको गुनासो गर्नुभएको छ । गोरखापत्र अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us