नेकपा एस सल्यानको जिल्ला अधिवेशन सुरु

सल्यान । नेकपा एकीकृत समाजवादीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले विचार मिल्ने कम्युनिस्टसँग पार्टी एकता हुने बताएका छन् ।

व्यक्तिवादी सोच र बिचार हाबी हुँदा नेकपा एमाले फुटेको बताउँदै उनले व्यक्तिगत लाभ र सोचलाई त्याग गरेर बिचार र निष्ठा बोकेर हिँड्ने पार्टीसँग मात्रै एकता हुने बताए ।

नेकपा एकीकृत समाजवादी सल्यानको नवौँ जिल्ला अधिवेशनको बुधवार जिल्लाको सदरमुकाम खलङ्गामा उद्घाटन गर्दै उनले भने, ‘जनताले मत दिएर दुई तिहाइको सरकार बनाएकै हो, केपी वलीले एकल निर्णय लाद्न खोज्दा कम्युनिस्टहरू एकता टिक्न सकेन, केपीकै अहमताका कारण एमाले फुटेर नेकपा एकीकृत समाजवादी बनेको हो ।’

उनले जनताको विश्वास लिएर समाजवादको आधार स्तम्भ तयार पारिने बताए । पूर्वमन्त्री समेत रहेका पाण्डेले विकास र समृद्धिको संकल्प पुरा गर्नको लागी सहकार्य र समन्वय आवश्यक रहेको बताए ।

यस्तै पार्टीका केन्द्रीय उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले प्रतिगमन र पार्टी भित्रको मनपरीतन्त्रका विरुद्धमा पार्टी भित्रको विद्रोहको जग कर्णालीबाट सुरु भएकोले त्यसयता पार्टीले नयाँ गति नयाँ गन्तव्य सुरु गरेको बताए ।

उनले भने, ‘हामी समयको मागअनुसार अघि बढेका छौँ, जनताको हितमा काम गरेर अघि बढी रहेका छौँ, सुशासन र पारदर्शितालाई मुख्य केन्द्रमा राखेर हामीले काम गरिरहेका छौँ ।’

यो राजतन्त्र वा सामन्तीको युग नभएको भन्दै उनले चिहानमा पुगेको राजतन्त्र फर्केर कहिल्यै नआउने बताए ।

यस्तै पार्टीका केन्द्रीय सचिव चन्द्रबहादुर शाहीले पार्टीलाई जीवन्त राख्न सबै नेता कार्यकर्ता एकीकृत हुन आवश्यकता रहेको बताए ।

पार्टीका प्रदेश कमिटी ठगेन्द्र प्रकाश पुरीले पार्टीलाई बलियो र एकताबद्ध बनाएर अघि बढ्नुपर्ने आवश्यकता भएको बताए ।

यस्तै पार्टीका केन्द्रीय सदस्यहरू उदयबहादुर बोहरा, भद्रसिंह बुढा, लोक बहादुर डाँगी, शारदा परियार, प्रेमा अधिकारी, हरी केसी, प्रदेश कमिटी सचिव धिर बहादुर बिष्ट, सुर्खेत जिल्ला अध्यक्ष खड्ग बहादुर केसीले पनि धारणा राखेका थिए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक मानबहादुर मल्ल, रास्वपाका जिल्ला अध्यक्ष प्रकाश नेपाली, नेकपाका केन्द्रीय सदस्य मदन सीलगायतले सम्बोधन गरेका थिए ।

४५० प्रतिनिधि सहभागी भएको जिल्ला अधिवेशनले ६७ सदस्यीय नयाँ जिल्ला कमिटी चयन गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us