तरकारी खेतीबाट तुल्सीरामलाई मासिक एक लाख आम्दानी

सिराज खान

नेपालगन्ज । रोजगारीका लागि विदेश जान तछाडमछाड गरिरहेका युवाहरुलाई बाँके बैजनाथ–४ का तुल्सीराम थारुले नेपालमै बसेर मिहिनेत गरे मासिक एक लाख रुपियाँसम्म कमाउन सकिन्छ भनेर देखाई दिनुभएको छ ।

बैजनाथ–४ का एकमात्र व्यवसायिक कृषकका रूपमा परिचित थारुले ‘भाइको कृषि फर्म’ नामक फर्म सञ्चालन गरेर सोही फर्ममार्फत २०७७ सालदेखि तरकारी खेती गर्दै आउनुभएको छ ।

तरकारी बेचेरै मासिक एक लाख रूपियाँसम्म आम्दानी गर्दै आएको जनाउँदै कृषक थारुले गरे नेपालमै धेरै संभावना रहेको आफुले प्रमाणित गरेर देखाइदिएको बताउनुभयो ।

बैजनाथ ४ तिलकपुरमा २५ कट्टा जग्गामा तरकारीखेती गरिरहनु भएका थारू सो खेती सुरु गर्नुभन्दा अघि घर बनाउने मिस्त्रीको रूपमा काम गर्नुहुन्थ्यो । मिस्त्री काम गर्दा घरको आर्थिक अवस्था सुध्रिने र आम्दानीको स्रोत बढ्ने नदेखेपछि कृषिमा लागेको उहाँले बताउनुभयो ।

‘म दिनभर मिस्त्री काम गर्थेँ । साँझ घर फर्किँदा कृषि हाट बजारमा तरकारी किन्न जान्थेँ । तरकारी किन्न जाँदा हाट बजारमै तरकारी बेचेर मनग्य आम्दानी भइरहेको कुरा थाहा पाएपछि यो व्यवसायमा लागेको हुँ ।’–थारुले भन्नुभयो ।

ठूलो जग्गा खाली रहेको र त्यसैमा व्यवसाय सुरु गर्ने निधो गरेर आफू कृषि व्यवसायमा होमिएको उहाँको भनाइ छ । अहिले उहाँ २५ कट्टा क्षेत्रफल जमिनमा तरकारी खेती गरिरहनु भएको छ । उक्त जग्गासमेत अपुग भएको उहाँको भनाई छ ।

तुल्सीरामले तरकारी खेती सुरु गर्दा बहिनीको विवाहकालागि जम्मा भएको तीन हजार ५०० रूपियाँ बहिनीसँग सापटी मागेर खेती सुरु गर्नु भएको थियो । उहाँले भन्नुभयो– ‘मसँग व्यवसायका लागि कुनैपनि पैसा थिएन । मैले बहिनीसँग सापटी मागेको हो । उनले विवाहको बेला जम्मा भएको पैसा दिएकी थिइन् । अहिले उसैका कारण लाखौँ कमाउने भएको छु ।’

थोरै लगानी गरेर धेरै आम्दानी गर्न सकिने माध्यम तरकारी खेती नै भएको उहाँले बताउनुभयो । उहाँका अनुसार पहिला मिस्त्री काम गर्दा साहुले भने अनुसारको काम गर्नुपर्ने बाध्यता थियो । अहिले भने आफैँ मालिक भएर काम गर्दा कसैले केही भन्ला भन्ने डर र चिन्ता पनि छैन र आम्दानी पनि सोचे भन्दा धेरै भएको बताउनुभयो ।

तरकारी खेती प्रवद्र्धनकालागि स्थानीय सरकारले समेत सहयोग गरेको जनाउँदै कृषक थारुले आफ्नो व्यवसायलाई प्रविधिमैत्री बनाउन विभिन्न सामग्री सहयोग पाएको बताउनुभयो । गाउँपालिकाले थोपा सिँचाइको लागि मोटर सहयोग गरेको पनि उहाँको भनाइ छ ।गोरखापत्र अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us