माधव नेपालले खोले पूर्वराजासँग भएको सहमतिको तथ्य, यस्तो छ वास्तविकता

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पूर्व ज्ञानेन्द्र शाहसँग तत्कालिन समयमा भएको सहमतिको तथ्य खोलेका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित पार्टी निकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी)को भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गणतन्त्र घोषणा गर्ने बेलामा पूर्वराजासँग भएको सहमतिबारे बोलेका हुन् ।

अध्यक्ष नेपालले पूर्वराजासँग तत्कालिन समय स्वर्गीय गिरिजाप्रसाद कोइराला र आफूले सहमति गरेको बताएका छन् । तत्कालिन समय राजा ज्ञानेन्द्रसँग कोइराला र आफूले सहमति गरेपछि मात्रै माओवादी मिसिएको उनले बताएका छन् ।

जुन सहमतिपछि नै माओवादी युद्ध छाडेर शान्तिपूर्ण राजनीतिमा आउन तयार भएको उनको दाबी छ ।

आफ्नै पहलमा नेपालमा गणतन्त्र आएको अध्यक्ष नेपालको दाबी छ । कोइराला र आफूबिच भएको सहमतिअनुसार राजा ज्ञानेन्द्रलाई सहमत गराएको र सबै अधिकार जनतालाई सुम्पिने अवस्था बनेको उनको भनाई छ ।

“यी जम्मै कुराहरू गर्ने हामी तीन जना हौँ, एउटा गिरिजाप्रसाद कोईराला, दोस्रो म र त्यसपछि ज्ञानेन्द्र, प्रचण्डजी पछि मात्रै आएको हो”, उनले भनेका छन्, “मंसिर महिनामा हामीले सहमति गरिसकेपछि मात्रै आएको हो, हाम्रो पार्टीले गणतन्त्र ल्याउने निर्णय हामीले गरेको साउन महिनामा हो, बसेर सहमति गरेको २०६३ सालको वैशाखको ११ गते हो, ११ गते बस्दा म र गिरिजाबाबु थियौँ, हामीले सबै सहमति गरेर कागज तयार गरेका हौँ, सबै अधिकार जनतालाई त्यही बेलामा सुम्पिएको हो ।”

पूर्वराजा ज्ञानेन्द्रलाई तत्कालिन सहमतिको बुँदालाई हेक्का राख्न अध्यक्ष नेपालको आग्रह छ । राजनीति नै गर्न मन भए पार्टी खोलेर आउन उनको सुझाव छ ।

“राजनीति गर्नु छ भने पार्टी खोल्नुस्, राजनीतिक मैदानमा आउनुस्, जनताको बीचमा जानुस्, चुनावमा जितेर बहुमत ल्याउनुस्, देश र जनताको कल्याण गर्नुहुन्छ भने खुसीकै कुरो”, अध्यक्ष नेपालले भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us