काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी र विश्वस्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससको राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेटवार्ता भएको छ।
भेटमा राष्ट्रपति भण्डारीले कोरोना भाइरस महामारीमा सबै देशलाई समान तरिकाले डब्ल्यूएचओले खोप वितरण गरेको भन्दै महानिर्देशक डा। टेड्रोसलाई धन्यवाद दिनु भएको छ । डा. टेड्रोसले राष्ट्रपति भण्डारीलाई नेपालले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानकाबारेमा जानकारी गराउनुभएको थियो । टेड्रोसले नेपालको स्वास्थ्य नीतिका बारेमा पनि चासो राख्नुभएको थियो ।
उहाँले डब्ल्यूएचओले नेपाललाई गर्ने सहयोगका बारेमा पनि राष्ट्रपति भण्डारीलाई जानकारी गराउनुभएको थियो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा तीन दिने भ्रमणमा बिहीवार नेपाल आउनुभएका महानिर्देशक डा टेड्रोसले बिहीवार नै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गर्नुभएको थियो ।
महानिर्देशकका साथ डब्ल्यूएचओका दक्षिणपूर्व एसिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल र डब्ल्यूएचओका अन्य अधिकारीसमेत नेपाल आउनुभएको छ । उहाँ यही वैशाख १० गते नेपालबाट फर्कनुहुने कार्यक्रम छ ।