नेकपा (एकीकृत समाजवादी) गुल्मीको १२औं जिल्ला अधिवेशन भव्यताका साथ तम्घासमा सम्पन्न

नेकपा (एकीकृत समाजवादी) गुल्मी जिल्लाको १२औं जिल्ला अधिवेशन २०८१ चैत २६ गते तम्घासस्थित बालमन्दिरमा भव्यताका साथ सम्पन्न भएको छ।उक्त अधिवेशन लुम्बिनी प्रदेश इन्चार्ज तथा पार्टीका उपमहासचिव कमरेड मेटमणि चौधरीको प्रमुख आतिथ्यता र पार्टी स्थायी कमिटी सदस्य तथा गुल्मी जिल्लाकी नेतृ कमरेड रामकुमारी झाँक्रीको विशेष आतिथ्यतामा सम्पन्न भएको छ।

अधिवेशनले पार्टीको नीति तथा कार्यक्रम पारित गर्नुका साथै समसामयिक विषयमा विभिन्न प्रस्तावहरू पारित गरेको छ। अधिवेशनको उद्घाटन सत्र जिल्ला सचिव सुरेन्द्र कँडेलको सञ्चालन तथा श्रीराम महतको अध्यक्षतामा सम्पन्न भएको थियो। त्यस्तै, बन्द सत्र जिल्ला इन्चार्ज तथा अध्यक्ष मण्डलका अध्यक्ष कमरेड प्रमेश पोखरेलको अध्यक्षता र कमरेड हरि छन्तेलको सञ्चालनमा सम्पन्न भएको हो।जिल्ला इन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य कमरेड प्रमेश पोखरेलले अध्यक्ष मण्डलको अध्यक्षको हैसियतले नवनिर्वाचित जिल्ला कमिटीको नामावली प्रस्तुत गर्नुभएको थियो।अधिवेशनले कमरेड राम मल्ल ठकुरीको अध्यक्षतामा सर्वसम्मत ४१ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ। जसमा उपाध्यक्षमा कमरेड रामजी ज्ञवाली र कमरेड कमला बराल, सचिवमा कमरेड बसन्त अधिकारी, उपसचिवहरूमा कमरेड सावित्रा भण्डारी, कमरेड पिताम्बर पौडेल र कमरेड सनबहादुर बुचा रहेका छन्। मुख्य अतिथि कमरेड मेटमणि चौधरीले समसामयिक राजनीतिक परिप्रेक्ष्य र गणतन्त्र विरोधी शक्तिहरूले देशमा सिर्जना गर्न खोजिरहेको अराजकता र हिंसा विरुद्ध चेतावनी दिँदै पार्टी अझ सशक्त ढंगले अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो। विशेष अतिथि कमरेड रामकुमारी झाँक्रीले अबको नेतृत्व सबल र क्रियाशील हुने विश्वास व्यक्त गर्दै पार्टी अभियानको रूपमा पालिका र वडा तहसम्मका कार्यक्रमहरू निर्माण गरेर अघि बढ्ने बताउनुभयो।

नेकपा एकीकृत समाजवादी गुल्मीले अधिवेशन मार्फत समसामयिक प्रस्तावहरू पास गर्दै अहिलेको शिक्षकहरूको आन्दोलनमा ऐक्यबद्धता प्रकट गरेको छ। साथसाथै सरकारलाई तत्काल माग पूरा गरी शैक्षिक संस्थाहरू खुल्ने र पठनपाठन सुचारु हुने वातावरण सिर्जना गर्न माग गरेको छ। त्यसैगरी अहिलेको चरम आर्थिक संकट, बेरोजगारी, बसाइँसराई, युवा पलायन लगायतका विषयमा सरकार गम्भीर नभएकोले तत्काल जनताका जनजीविकाका सवालमा सरकार गम्भीर रही तत्काल आर्थिक राहतका प्याकेजहरू ल्याउन माग गरेको छ। त्यसैगरी अराजकता सिर्जना गर्ने, ध्वंस र हिंसा मच्याउने हिसाबले जुन मण्डलेहरूले, धार्मिक अतिवादीहरूले चैत्र १५ गते काठमाडौँमा जुन ताण्डव मच्याए, त्यसको घोर विरोध र भर्त्सना गर्दै सबै गणतन्त्रवादी शक्तिहरू एकजुट हुनुपर्ने प्रस्ताव पारित गरेको छ।

नवनिर्वाचित जिल्ला कमिटीलाई हाम्रो तर्फबाट पनि हार्दिक बधाई तथा सफलताको शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us