काठमाडौंको वायु गुणस्तरमा सुधार : आज १२ नम्बरमा झर्यो

काठमाडौं । वर्षा भएसँगै काठमाडौं उपत्यकाको वायु गुणस्तरमा केही सुधार भएको छ । बुधबार दिउँसोसम्म विश्वकै प्रदूषित सहरको दोस्रो नम्बरमा रहेको काठमाडौं आज १२ नम्बरमा झरेको छ ।

पानी पर्दा वायुमण्डलमा भएको धुलो र हावाको कण पखालिँदै वायुको गुणवत्ता केही सुधार भएको हो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज, भोलि र पर्सि पनि पानी पर्ने सम्भावना रहेको छ । जसले गर्दा नेपालमा वायुको गुणस्तरमा अझै सुधार हुने पूर्वानुमान रहेको छ ।

विश्वभरका शहरहरुको वायुको गुणस्तर रियल टाइममा मापन गर्ने स्वीजरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान सवा ७ बजे काठमाडौंको वायु गुणस्तर सूचकांक ११९ छ । विगतको तुलनामा केही सुधार देखिएपनि यो सूचकांकले संवेदनशील समूहका लागि काठमाडौंको हावा अझै अस्वस्थ रहेको जनाउँछ ।

नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांक अनुसार ०–५० एक्यूआई हुनु स्वास्थ्यका लागि राम्रो मानिन्छ भने ३०१ भन्दा माथि भएमा खतरनाक तहमा पुगेको संकेत गर्दछ । यसअघि यो वर्ष यही चैत २१ गते काठमाडौंको बायुको गुणस्तर सूचकांक ३७३ सम्म पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us