बर्दिया । बर्दिया जिल्लाका कृषक प्रविधिमैत्री कृषि पेसातर्फ आकर्षित हुँदै गएका छन् । केही वर्षअघिसम्म बर्दियाका कृषकहरू गहुँ काट्नका लागि महिनौँ दिन लगाउँथे, गहुँ काट्दा ज्याला मजदुरीमा समेत धेरै रकम खर्च हुन्थ्यो तर अहिले भने कृषकले कम्पाइन हार्भेस्टर मेसिनको प्रयोग गरेर गहुँ काट्न थालेका छन् । जसले गर्दा कृषकहरू महिना दिन लाग्ने काम सजिलै हुन थालेको छ ।
गुलरिया नगरपालिका–५ का स्थानीय कृषक कृष्णमोहन चौधरीले आजभोलि त खेतमा नै कम्पाइन मेसिन आउँछ जसले ३० जना मजदुरले दिनभरमा गर्ने काम एक घण्टामै गरिदिन्छ । समय पनि बचत लागत पनि न्यून, त्यसैले आफूले पनि कम्पाइन हार्भेस्टरको प्रयोग गर्दै आएको उहाँले बताउनुभयो । कम्पाइन हार्भेस्टरको प्रयोग गरेर गहुँ काट्न थालेपछि कृषकहरूको स्वास्थ्यसमेत राम्रो भएको छ ।
“केही वर्षअघिसम्म ज्यालामजदुरीमा गहुँ काट्दा त्यसलाई थ्रेसर गरेर गहुँको दाना निकाल्नु पथ्र्यो तर अहिले भने कम्पाइनको प्रयोगले धेरै सहज भएको छ,” गुलरिया नगरपालिका–८ का सरिफ धोबीले भन्नुभयो ।
खेतमा पुग्ने कम्पाइन हार्भेस्टरले दिनभरिको काम एक घण्टामा सकिन्छ जसले गर्दा कृषकलाई दिनभरि खेतमा बस्नु पर्दैन र अन्य कामका लागि फुर्सदसमेत हुने गुलरिया नगरपालिका–३ का सन्तोष यादवले बताउनुभयो । एक बिघा क्षेत्रफलमा लगाएको गहुँ कटानीका लागि करिब ३० जना मजदुरी लाग्ने गर्छ जसको लागत १५ हजार हुन्छ भने गहुँ थ्रेसर गरेबापत छुट्टै रकम भुक्तानी गर्नुपर्ने हुन्छ ।
अहिले भने कम्पाइन हार्भेस्टरको प्रयोग गर्दा सात हजारमा नै सबै काम हुने हुँदा कृषकहरू त्यसतर्फ आकर्षित हुँदै गएको गुलरिया नगरपालिका–११ का अध्यक्ष विष्णु यादवले जानकारी दिनुभयो ।गोरखापत्र अनलाईन