स्याङ्जा । पैसा नभएको र काम गर्ने उपयुक्त समय नभएको भन्दै निर्माण कम्पनीले पटक पटक म्याद थपेर काम गरिरहेका छन् । समय गुजारेर काम गरेका निर्माण कम्पनीहरू कारबाहीमा समेत परेका छन् ।
यहाँको राङखोला–धौवादी सडकमा भने करोडौँ रकम भुक्तानी नहुँदा समेत सम्झौताको समयभन्दा चार महिनाअगावै कालोपत्रे गरिएको छ । २०८० भदौ १२ गते गणेशकुण्ड इन्द्रायणी रक्तकन्या जेभी, काठमाडौँले २०८२ साउन २८ गते काम सक्ने गरेर पूर्वाधार विकास कार्यालय, स्याङ्जासँग सम्झौता गरेको थियो ।
१९ करोड ९३ लाख ५३ हजार १०४ रुपियाँ ८८ पैसामा सम्झौता गरेको इन्द्रायणी रक्तकन्याले छ करोड नौ लाख ५९ हजार ३८८ रुपियाँ ७३ पैसा भुक्तानी लिन बाँकी रहँदै चार महिनाअगावै काम सकेको हो । निर्माण कम्पनीले राङखोलादेखि धौवादी खण्डमा ६७६.४३ घनमिटर अर्थात् ६.२ किमी प्रिमिक्स कालोपत्रे गरेको हो । सम्झौताको समयमा मेसिनरी, प्लम्ब, ग्याबिन, सबबेस, बेसको काम सकेर समयअगावै काम सकेको निर्माण कम्पनीका ज्ञानराज घिमिरेले बताउनुभयो ।
यो आर्थिक वर्षमा विनियोजन गरेको साढे पाँच करोड आफूले लिएको बताउँदै घिमिरेले काम सकेकाले प्रदेश सरकारले रकमान्तर गरेर पूर्वाधारमा पैसा पठाएमा यो आर्थिक वर्षमा भक्तानी लिने र नभए आगामी आर्थिक वर्ष लिने बताउनुभयो । काम थालेपछि समयमै सकेमा जनतालाई सहज हुने बताउँदै घिमिरेले आफूले थालेका काम सक्न कहिल्यै ढिलाइ नगरेको बताउनुभयो । एउटा योजना जिम्मा लिएर सकेपछि मात्र अर्को काम आफूले थाल्ने गरेको बताउँदै घिमिरेले निर्माण कम्पनीले म्याद गुजारेर काम गर्न नहुने बताउनुभयो । गोरखापत्र अनलाईन