काठमाडाैं । निर्वाचन आयोगले अद्यावधिक भइसकेको मतदाता नामावलीमा अब थपघट र हेरफेर नहुने स्पष्ट गरेको छ । आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज विज्ञप्ति जारी गरी निर्वाचन अवधिमा मतदाता नामावलीसम्बन्धी कुनै पनि कार्य सम्पादन नहुने उल्लेख गर्नुभएकाे हाे ।
यही वैशाख ३० गतेका लागि नेपाल सरकारबाट स्थानीय तहको निर्वाचनको मिति घोषणा भएकाले आयोगबाट नियमित हुँदै आएको मतदाता नामावली सङ्कलन कार्य मतदाता नामावली ऐन, २०७३ बमोजिम निर्वाचनको मिति घोषणा भएपछि सो निर्वाचनको प्रयोजनको लागि मतदाता नामावलीमा नाम दर्ता नगरिने भएकाले सो कार्य गत माघ २५ गतेदेखि स्थगन भएको थियो ।
उक्त कार्यका लागि अनलाइनबाट समेत निवेदन दिने सुविधा प्रदान गरिएको थियो । मतदाता नामावली अद्यावधिक कार्यक्रम सम्पन्न भएपश्चात आयोगबाट गत चैत १३ गते दोहोरो नामावली हटाउनेलगायत प्रक्रिया पूरा गरी अन्तिम मतदाता नामावली प्रकाशन भएको थियो ।
मतदाता नामावली सङ्कलनकार्य स्थगन भए पश्चात आयोगबाट मतदाता नामावली अद्यावधिक कार्यक्रम स्वीकृत भई गत फागुन १९ देखि २६ गतेसम्म मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन भएकोमा उक्त अवधिमा नामावलीमा भएको त्रुटि सच्याउने, दोहोरो नामावली भएको भए हटाउन निवेदन दिने, एकाघर परिवारका सदस्यको मृत्यु भएको भए हटाउन निवेदन दिन आह्वान गरिएको थियो ।
अन्तिम मतदाता नामावली प्रकाशन भएपछि पनि मतदाता नामावली सार्न र सच्याइ पाउँ भन्ने निवेदन आइरहेको सन्दर्भमा मतदाता नामावली ऐन, २०७३ को दफा २१ बमोजिम अन्तिम मतदाता नामावली प्रकाशन भएपछि नामावलीमा हेरफेर, थपघट गर्न वा सच्याउन नपाइने कानूनी व्यवस्था भएकाले मतदाता नामावली थपघट गर्न, हेरफेर गर्नेलगायत कार्य नितान्त आयोगको क्षेत्राधिकारभित्र रहेकाले सो ऐनको दफा २९ बमोजिम कुनै अदालतमा प्रश्न उठाउन नपाइने पनि आयोगले जनाएको छ ।
सोही अवधिमा एकै वडाका दुई वा दुईभन्दा बढी मतदान स्थल भएकोमा पायक पर्ने मतदान स्थलमा नाम सार्न निवेदन दिन सकिने, कुनै दावी विरोध भए सोसम्बन्धी निवेदनलगायत कार्यक्रम सञ्चालन गरिएको थियो ।