अमेरिकाले चीनबाट आयात हुने स्मार्टफोन र इलेक्ट्रोनिक सामानमा भन्सार छुट दिने

काठमाडौं ।अमेरिकाले चीनबाट आयात हुने स्मार्टफोन लगायत इलेक्ट्रोनिक्स सामानहरूमा रेसिप्रोकल (पारस्परिक) भन्सार दर नलगाउने भएको छ।

अमेरिकी भन्सार तथा सीमा सुरक्षा विभागले सूचना जारी स्मार्टफोन, कम्युटर लगायतका इलेक्ट्रोनिक सामानहरूमा भन्सार छुट दिने निर्णय भएको जनाएको छ।

विभागले त्यस्ता सामानहरुको कोड नम्बर सार्वजनिक गरी ती सामग्रीहरूमा भन्सार दर संशोधन गरी छुट दिएको जनाएको छ।यसमा सबै खालका कम्प्युटर, ल्यापटप, डिस्क ड्राइभसहित २० उत्पादन समावेश छन्।

ट्रम्पले यसअघि चीनलाई १४५ प्रतिशत भन्सार लगाउने घोषणा गरेका थिए।

अब त्यो भन्सार स्मार्टफोन र इलेक्ट्रोनिक सामानमा छुट दिइने भएको छ। त्यस्ता सामानमा १० प्रतिशत विश्वव्यापी भन्सार पनि नलाग्ने विभागले जनाएको छ।

यद्यपि, यी इलेक्ट्रोनिक्स सामानमा २० प्रतिशत कर भने यथावत् रहनेछ।

चीनलाई गलाउन भनेर ट्रम्पले सोमबार १०४ प्रतिशत भन्सार घोषणा गरेलगत्तै चीनले पनि अमेरिकी आयातमा ८४ प्रतिशत भन्सार लगाउने घोषणाले रिसाएका ट्रम्पले बिहीबार भन्सार बढाएर १४५ प्रतिशत पुर्‍याएका थिए। त्यसपछि चीनले पनि अमेरिकी आयातमा १२५ प्रतिशत भन्सार घोषणा गरेको थियो।

अमेरिकाले भन्सार बढाएर १४५ प्रतिशत पुर्‍याएपछि ट्रम्पसँगको व्यापार युद्धबारे चिनियाँ राष्ट्रपति सी चिनफिङले पहिलो पटक अभिव्यक्ति दिँदै चीन कहिल्यै अरूको भीखमा भर नपर्ने भनेका थिए।

चीनले १४५ प्रतिशतबाट वाशिङ्टन अझै बढ्यो भने पनि बेइजिङ १२५ प्रतिशतबाट माथि नजाने नीति लिएको छ।

चर्को भन्सार दर लगाएपछि अमेरिकी प्राविधिक कम्पनीहरूले चिनियाँ उत्पादनका कारण इलेक्ट्रोनिक सामानको भाउ आकाशिने चिन्ता गरेका थिए। त्यसकारण पनि ट्रम्प त्यस्ता सामानमा भन्सार छुट दिन तयार भएका हुन्।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार शनिबार मायामी जाँदै गर्दा ट्रम्पले यो छुटबारे अर्को साता थप जानकारी दिने बताएका थिए।

‘यसबारे म सोमबार भन्नेछु। त्यस दिन अझै स्पष्ट गर्नेछु,’ एयर फोर्स वानमा पत्रकारहरूसँग ट्रम्पले भने।

भन्सार छुट भएपछि अमेरिकी टेक कम्पनीहरू उत्साहित हुँदै ट्रम्पको कदमलाई गेम चेन्जर भनेका छन्।

यो नीतिले एप्पल, एनविडिया, माइक्रोसफ्टजस्ता ठूला टेक कम्पनीले राहतको सास लिन पाएको डबश सेक्युरिटीजका प्रविधि अनुसन्धानका विश्वव्यापी प्रमुख ड्यान इभ्सले बताएका छन्। साथै लगानीकर्ताहरूलाई पनि सहज हुने उनले बताएका छन्।

अमेरिकामा स्मार्टफोन, चिप्स, ल्यापटपजस्ता महत्त्वपूर्ण प्रविधिका सामाग्रीहरूको ठूलो हिस्सा चीनबाट आयात हुन्छ।

अमेरिका आइफोनको ठूलो बजार हो। गत वर्ष एप्पलले आधाभन्दा बढी स्मार्टफोन बिक्री गरेको काउन्टरपोइन्ट रिसर्चले जनाएको छ। एप्पलका लागि अमेरिकी बजारमा बिक्री हुने ८० प्रतिशत आइफोन चीनमा बन्छन्

भन्सार दर कायमै रहेको अवस्थामा अमेरिकामा आइफोनको मूल्य तीन गुणासम्म बढ्न सक्ने आकलन गरिएको थियो। भन्सार लागु भएपछि एप्पलले भारतमा उत्पादन बढाउने योजना बनाएको थियो।

ट्रम्पले अब धेरै समय चीनलगायत विश्वका अरू देशहरूमा निर्भर रहन नपर्ने गरी अमेरिकाभित्रै उत्पादन गर्ने पनि भनेका छन्।

‘राष्ट्रपतिको निर्देशनमा यी कम्पनीहरूले सकेसम्म छिटो अमेरिकामै उत्पादन ल्याउन जुटेका छन्,’ ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले शुक्रबार भनेकी छन्।

ट्रम्पले शुक्रबार फ्लोरिडामा पत्रकारहरूसँगको कुराकानीमा पनि चीनमाथि उच्च कर लगाउँदा समस्या नहुने बताएका थिए।

‘मलाई लाग्छ, यसबाट केही सकारात्मक नतिजा आउनेछ,’ उनको भनाइ उद्धृत गर्दै बिबिसीले लेखेको छ।

ट्रम्पले चीनबाहेकका देशहरूका लागि घोषणा गरेको पारस्परिक भन्सार पनि तीन महिनाका लागि रोकिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us